काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेट आर्थिक गतिविधि थप चलायमान हुने गरी आउने बताएका छन्। आउँदो बजेटले निजी क्षेत्रका सवाल सम्बोधन गर्ने हुँदा आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने उनको विश्वास छ।
आज कांग्रेसको उद्योग तथा व्यापार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘मलाई विश्वास छ, आगामी बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ। आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ।’
निजी क्षेत्रले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको सभापति देउवाले बताए।
‘निजी क्षेत्रका समस्या समाधान गर्न कांग्रेस सधैं अग्र स्थानमा छ,’ उनले भने, ‘निजी क्षेत्र र सरकारबीच सुदृढ कार्य हुन सक्यो भने अर्थतन्त्र थप बलियो हुनेछ। व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्ने हो। सरकारले व्यापार र उद्योग गर्ने होइन, निजी संस्थाले गर्नुपर्छ।’
कांग्रेस सधैं निजी क्षेत्रका समस्या समाधानमा तत्पर रहेको सभापति देउवाले दाबी गरे। ‘निजी क्षेत्र र सरकारबीच सुदृढ सहकार्य हुन सके अर्थतन्त्र थप बलियो बन्छ। अर्थतन्त्र बलियो बनाउन सबै पक्षको सहयोग जरुरी छ,’ देउवाले भने।
नेपालको दिगो आर्थिक विकास गरे नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी दिन सक्ने गरी नीति तर्जुमा गरिनुपर्ने उनको भनाइ छ।
अर्थतन्त्रलाई गति दिन सरकारले पहल गर्दै आए पनि एक्लो प्रयास सम्भन नहुने हुँदा सबै पक्षको सहकार्य जरुरी रहेको सभापति देउवाले औंल्याए।