काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदको लेखा समितिलाई पोखरा विमानस्थलको अध्ययन प्रतिवेद पेश गरेका छन्। संसदीय उपसमितिका संयोजक रहेका लिङदेनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन्।
गत वर्षको असार १४ गते प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन-अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन दुई छुट्टाछुट्टै उपसमिति बनाएको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमितिको संयोजक लिङदेन थिए। यो उपसमितिमा उनीसँगै सांसदहरू अर्जुननरसिंह केसी, गोकुल बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य छन्।
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन उपसमिति एमाले सचिव एवं सांसद योगेश भट्टराईको नेतृत्वमा छ।
यो उपसमितिमा सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन्।
यी विमानस्थलमा राज्यको अर्बौं लगानी भए पनि प्रतिफल दिन नसकेपछि अध्ययन समिति गठन गरिएको हो। चीनको ऋण लगानीमा २४ अर्बमा पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो ।
यता, भैरहवा विमानस्थलमा ३० अर्ब रुपैयाँको लगानी भएको छ। यो विमानस्थल २०७९ जेठमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो।
अहिले यी दुवै अन्तर्राष्ट्रिय विमानस्थलबाट अपवादबाहेक विमान उडान हुन सकेको छैन।