काठमाडौं । सेयर बजारमा उछाल आएपछि यो साता सबैभन्दा बढी सेयर कारोबार भएको छ । यो कारोबार रकम २ वर्षयताकै सबैभन्दा बढी हो । यो साता आइतबारदेखि बिहीबारसम्म १८ अर्ब ६२ करोड ६२ लाख रुपैयाँ बराबरको ४ करोड ४९ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ ।
यो कारोबार रकम गत साताको भन्दा ६६.२३ प्रतिशत बढी रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जानकारी दिएको छ । अघिल्लो साता ११ अर्ब २० करोड रुपैयाँ बराबरको २ करोड ५३ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । कारोबारसंगै बजार पुँजीकरण बढेर २० खर्ब ८३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

यो साता सेयर बजार १२८ अंक बढेर नेप्से परिसूचक १ हजार ६३२ मा पुगेको छ । गत साता नेप्से परिसूचक १ हजार ५०४ अंकमा थियो । रकमका आधारमा यो साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल लाइफको ८७ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफको सेयर मूल्य र कारोबार दुबै बढेको छ ।
दोस्रो स्थानमा एनएमबी बैंक रहेको छ । एनएमबीको ६५ करोड ७० लाख, हिमालयन डिष्टिलरीको ६५ करोड १९ लाख, शिवम सिमेन्टको ६१ करोड ६७ लाख, एनआईसी एसिया बैंकको ५९ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बजार पुँजीकरणका आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको छ । नेपाल टेलिकमको बजार पुँजीकरण बढेर १ खर्ब ७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।
यस्तै नविल बैंकको ९६ अर्ब ३१ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ८० अर्ब ४० करोड, एभरेष्ट बैंकको ७४ अर्ब १६ करोड र एनएमबी बैंकको ६९ अर्ब ४७ करोड र नेपाल इन्भेस्टमेन्ट बैंकको ६८ अर्ब ८२ करोड रुपैयाँ छ ।

यो साता हिमाल दोलखा हाइड्रोपावरको १६ लाख कित्ता प्राथमिक सेयर (आईपीओ), गुराँश लघुवित्तको ५९ हजार र चिलिमे जलविद्युत कम्पनीको ९५ लाख १६ हजार कित्ता बोनस सेयर कारोबारका लागि सूचिकृत भएको नेप्सेले जनाएको छ ।
फागुन लागेपछि सेयर बजारमा उछाल आएको छ । बीमा, उत्पादनमुलक र लघुवित्तको बढी सेयर कारोबार भएको छ । बैंक तथा वित्तीय संस्थाको कम छ ।