तनहुँ। शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौंडा–साखे सडक स्तरोन्नति सुरु गरिएको छ । शुक्लागण्डकी नगरपालिका र सडक बोर्डको साझेदारीमा उक्त सडक स्तरोन्नति सुरु गरिएको हो।
सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–८ ढोरबाराहीको बाराही खोलादेखि मान्द्रे खण्ड सडक स्तरोन्नति भइरहेको वडाध्यक्ष नारायण थापाले जानकारी दिए। १५ लाखमा उक्त खण्ड ढलान सुरु गरिएको उहाँले बताउनुभयो । यस खण्डमा १५० मिटर सडक ढलान हुनेछ।
शनिबारदेखि उक्त सडक खण्डको बराहखोला कल्भर्ट, कुमारी बैंकअगाडि र भाटीको डिल खण्डमा सवारी आवागमन बन्द गरिएको छ। एक महिनासम्म उक्त बाटो बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।
त्यसैगरी भानु नगरपालिका–१२ स्थित भिसी शेरबहादुर सडकअन्तर्गत चन्द्रावती–घलेछाप सडक खण्ड स्तरोन्नति थालिएको छ। संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयको बजेटबाट स्तरोन्नति थालिएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक करोड बजेटमा उक्त खण्डअन्तर्गत ढुंगेधारा घुम्तीबाट ४७० मिटर कालोपत्रसहित आवश्यक संरचना निर्माण भइरहेको वडा सदस्य सुदीप केसीले जानकारी दिए।
सहरी विकास मन्त्रालयको एक करोड बजेटबाट ४९० मिटर कालोपत्रेसहित अन्य संरचना निर्माण गरिने केसीले बताए।
पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको २० लाख बजेटबाट सुरुआती बिन्दु चन्द्रावतीमा १८० घनमिटर बग्याबिन जाली र ५४ घनमिटर पक्की नाला निर्माण सम्पन्न भइसकेको छ।
भानु नगरपालिकामार्फत ठेक्का लागेको र निर्माण पक्षले पटक–पटक समय थप गर्दासमेत काम नगरेकाले सुरुआती बिन्दुबाट कुडुलेसम्मको ठेक्का तोडी ७५ लाखमा करिब ९५० मिटर कालोपत्रे सुरु गरिएको केसीले बताए।
हाल भइरहेको ४७० मिटर कालोपत्रे सम्पन्न हुन केही दिन लाग्ने जनाइएको छ । हाललाई माथिल्लो घलेछाप, ओख्ले, बयापानी जाने उपभोक्ताले वैकल्पिक मार्ग चन्द्रावती–अर्चले–आरबाजेमार्फत यात्रा गर्न आग्रह गरिएको छ।–रासस