काठमाडौं। नेपालको खानेतेल व्यापारमा डरलाग्दो असन्तुलन देखिएको छ। चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा खानेतेलको आयात आकाशिँदै गएको र निर्यात अत्यन्तै न्यून रहेको देखिएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्ममा नेपालले १ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ बराबरको खानेतेल तथा कच्चापदार्थ आयात गरेको छ। सो अवधिमा नेपालबाट ७४ अर्ब २८ करोड रुपैयाँको मात्रै निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
यसले मुलुकको खानेतेल व्यापारमा २७ अर्ब ६६ करोड व्यापारघाटा देखिन्छ। उक्त अवधिमा सरकारले खानेतेलबाट ८ अर्ब ६५ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। खानेतेलमा मात्रै यति ठूलो व्यापारघाटा हुनुले नेपाली अर्थतन्त्रमा गम्भीर चुनौती थपेको छ।
जानकारहरूका अनुसार खानेतेलमा यति धेरै परनिर्भरता हुनुको मुख्य कारण सरकारको स्पष्ट नीति अभाव हो। नीतिमा बारम्बार हुने फेरबदलले व्यवसायीको मनोवल गिराउने र त्यसैका कारण उत्पादनमा कमी आउँदा आयात अनवरत रुपमा वृद्धि भएको हो।

यदि समयमै स्वदेशी तेलहन बाली उत्पादन बढाउने र प्रशोधन उद्योगलाई प्रोत्साहन गर्ने खालका ठोस कदम चालिएन भने तेलको व्यापारघाटा अझ बढ्ने निश्चित छ। भारत गते भदौमा अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर २० प्रतिशत बिन्दुले बढाएको थियो। त्यसपछि त्यहाँ कच्चा तेलमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको छ।
नेपाल चामल, तेल, दाल उद्योग सदस्य विभोर अग्रवालका अनुसार नेपालमा तेल तथा तेलजन्य पलार्थको आयात र निर्यात भारतको भन्सार शुल्कले फरक पार्छ।
भारतले तेस्रोबाट आउने तेलको भन्सार शुल्क बढाएको खण्डमा नेपालमा कच्चापदार्थ आयात र प्रशोशित तेलको निर्यात बढ्छ। भारतले भन्सार शुल्क घटाएमा नेपालमा तेलको कच्चा पदार्थको आयात घट्न गई नेपालबाट निर्यात हुने प्रशोशित तेलमा पनि कमी आउँछ।
‘नेपालको आयात र निर्यातमा भारतको भन्सार शुल्कमा भारपर्छ,’ अग्रवालले भने, ‘भारतमा तेस्रो मुलुकबाट भित्रिने तेलको भन्सार साढे २७ प्रतिशत छ, नेपाललाई १० प्रतिशत मात्रै लगाउँदै आएको छ। यसले गर्दा १७ प्रतिशत फरक पर्छ।’

अग्रवालका अनुसार देशभर ३० वटा तेल प्रशोधन गर्ने उद्योग छन्। उत्पादित तेलमध्ये ५० प्रतिशत हारहारी विश्व बजारमा निर्यात हुन्छ। नेपाली उद्योगी व्यवसायीले भातरतर्फ निर्यात गर्दा अग्रिम भुक्तानी हुने भएकाले विभिन्न मुलुकबाट कच्चा तेल आयात गरी निर्यात गरिरहेका छन्।
अहिले अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट आयातित कच्चा तेल प्रशोधन गरेर निर्यात गरिएको व्यवसायीहरूको भनाइ छ।
‘कच्चो तेल प्रशोधन भएर भारतलगायत विभिन्न मुलुकमा पनि गइरहेको छ,’ अग्रवालले भने, ‘बाहिरबाट कच्चा पदार्थ ल्याएर नेपालमा प्रशोधन गरी निर्यात गरिन्छ।’
उत्पादन किन बढेन ?
तेलहनबाली लगाउन पर्याप्त र नियमित सिँचाइ आवश्यक पर्छ। नेपालको धेरै कृषि क्षेत्र अझै पनि आकाशे पानीमा निर्भर छ, जसले तेलहन बाली उत्पादनलाई सीमित गरेको छ। उच्च उत्पादन दिने तेलहन बालीका उन्नत जातका बीउहरू पर्याप्त मात्रामा उपलब्ध हुन सकेका छैनन्।
तेलहनबाली लगाउने आधुनिक प्रविधि र उचित ज्ञानको अभावका कारण किसानहरूले अपेक्षित उत्पादन लिन नसकेको विज्ञको भनाइ छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तेलबाली अनुसन्धान कार्याक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डा. सुवास सुवेदीले नेपाललाई आवश्यक पर्ने तेलबाली उत्पादन हुन नसकेको बताउँछन्।
‘हामीले खानेतेलको आधा मात्रै उत्पादन गर्न सकेका छौं,’ उनी भन्छन्, ‘तेल बालीका लागि वैज्ञानिक नै छैनन्, हामीसँग करिब ७ वटा तेलबालीका जात छ। प्रत्येक बालीको विज्ञ आवश्यक हुन्छ। हाल एक जना मात्रै विज्ञ छन्।’
उनले जनशक्ति र स्रोतसाधान नहुँदा तेलबालीको नयाँ जात ल्याउन नसकिएको बताए। नेपालमा उत्पादन हुने तोरीबालीले राम्रो बजार पाइरहेको र जनमनासमा बढ्दो स्वास्थ्य सचेतनाले तोरी बालीको अझै सम्भावना रहेको सुवेदी बताउँछन्।
नेपालमा खानेतेलको बढ्दो आयातलाई प्रतिस्थापन गर्दै आत्मनिर्भर बन्ने उद्देश्यले विभिन्न सरोकारवालाहरूले उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।
कृषि विज्ञहरू र अर्थशास्त्रीहरूले तेलहनबाली उत्पादन बढाउन र प्रशोधन उद्योगको विकास गर्न ठोस योजना र कार्यान्वयनको आवश्यकता भएको बताएका छन्। नेपालको भौगोलिक विविधता र हावापानी तेलहनखेतीका लागि अनुकूल भए पनि पर्याप्त लगानी र प्रोत्साहनको अभावमा उत्पादन अपेक्षाकृत हुन सकेको छैन।
वरिष्ठ वैज्ञानिक डा. सुवेदीका अनुसार तोरीबाली ९० दिनमै तयार हुने र उत्पादनमा प्रणालीमा अनुकुल हुन्छ। भौगोलिक क्षेत्र अनुसार तेलबाली उपभोक्ता रुचाउने गरेका छन्।
‘तराईतिर सर्सो हो, तर तोरी जति उत्पादन हुँदैन, केही किसानले लगाउँछन्, पहाडमा त्यति रुचाउँदैनन्,’ उनले भने, ‘रायोबाट राम्रो तेल उत्पादन हुने भए पनि उत्पादन प्रणालीमा अनुकुल हुन सकेको छैन।’
खानेतेल प्रशोधन उद्योग स्थापना गर्न निजी क्षेत्रलाई आकर्षित गर्न विभिन्न प्रोत्साहन प्याकेजहरू ल्याउनुपर्ने विज्ञहरुले बताएका छ। आधुनिक प्रविधि भित्र्याउन सरकारले सहजीकरण गर्नुपर्छ। तोरी,सूर्यमुखी,भटमास जस्ता तेलहन बाली खेती गर्ने क्षेत्र पहिचान गरी विस्तार गर्नुपर्ने उनीहरुको भनाइ छ। उच्च उत्पादन दिने जातका बीउ किसानहरूलाई सहज रूपमा उपलब्ध गराउनुपर्छ।
अघिल्लो वर्षको तुलनामा चालु वर्षमा खानेतेलमध्ये भटमास, पाम, जैतुन, तोरी, सनफ्लावर, नरिवल, माछाको तेल, मकै, आलसलगायत तेल आयात बढेको भन्सार विभागले जनाएको छ।
