काठमाडौं। वाणिज्य बैंकहरुले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा ८ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।
चालू आर्थिक वर्षको साउनमा २० वटा वाणिज्य बैंकले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
अघिल्लो वर्ष यस्तो नाफा ९ अर्ब १७ करोड ६१ लाख थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ८.६४ प्रतिशतले घटेको छ।
सर्वाधिक नाफा कमाउने शीर्ष स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ भने वृद्धिदरमा नेपाल बैंक अगाडि छ। अघिल्लो वर्षको साउनको तुलनामा चालू वर्षको साउनमा ११ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने ९ वटाको बढेको छ।
चालू वर्षको साउनमा ग्लोबल आइएमई बैंकले ७८ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको साउनको तुलनामा १२.०९ प्रतिशत कम हो। अघिल्लो वर्ष साउनमा बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
दोस्रोमा नबिल बैंक रहेको छ। समीक्षा अवधिमा बैंकले ७१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस्तै, उच्च नाफा आर्जन गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। अघिल्लो वर्ष साउनमा बैंकले ५७ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेकामा समीक्षा अवधिमा ६३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ। तथ्यांकअनुसार चालू वर्षको साउनमा नेपाल बैंकले ५५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ।
सबैभन्दा कम कृषि विकास बैंकले ३७ लाख ५० हजार रुपैयाँ मात्रै नाफा कमाएको छ। अघिल्लो वर्ष साउनमा बैंकले ७१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।