काठमाडौं। व्यवसाय विस्तारमा सुस्त देखिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्बको ग्रीन बन्ड जारी गरेर जलविद्युत् र सौर्य उर्जामा व्यापक लगानी बढाउने भएको हो।
निफ्राले त्यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेको छ र स्वीकृतको अन्तिम तयारीमा छ। बोर्डका अनुसार ५ अर्बमध्ये ३ अर्ब निफ्राले लगानी हाल्नेछ भने २ अर्ब रुपैयाँ सर्वसाधारणबाट संकलन गर्नेछ।
निफ्राले यसरी उठाएको रकम ग्रीन ट्याक्सोनोमीको गाइ्डलाइनभित्र बसेर लगानी गर्नेछ।
निफ्राले बन्ड जारी गर्न २०८१ कात्तिक १४ मै सेबोनमा आवेदन दिएको थियो। उक्त आदेवन उपर बोर्डले २०८२ बैशाख ४ गते कमेन्ट गरी अपुग कागजात थप गरी पठाउन निफ्रालाई भनेको थियो।
यसमा निफ्राले वैशाख ८ मा रिप्लाइ गरिसकेको छ। निफ्राबाट आएको रिप्लाइमा समेत छलफल भइसकेको बोर्डका सह–प्रवक्ता तोलाकान्त न्यौपानेले बताए। ‘सेबोनमा ग्रीन बन्ड स्वीकृतिको अन्तिम चरणमा छ, उताबाट आएको रिप्लाइमाथि बोर्डमा समेत छलफल भइसकेर रिप्लाइ अन्डर रिभ्युमा गइसकेको छ,’ उनले भने।
निफ्राले ५ अर्ब रुपैयाँ बरारबरको ५० लाख युनिट जारी गर्न लागेको हो। डिबेन्चर ७ वर्षका लागि ६ प्रतिशत ब्याजदरमा जारी गर्न लागेको हो। यसमा २० लाख युनिट सर्वसाधारणका लागि हो भने ३० लाख युनिट संस्थापकका लागि।
निफ्राले ‘ग्रिन बन्ड’ वातावरणीय परिवर्तन (क्लाइमेन्ट चेञ्ज) बाट उत्पन्न जोखिम घटाउन ‘क्याइमेट रिजिलियन्ट’ क्षेत्रमा लगानी गर्न लागेको हो।
सरकारको सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन नीतिलाई सहयोग गर्ने गरी जारी गर्न लागिएको निफ्राले जानकारी दिएको छ। सो कारणले बन्डमार्फत संकलित स्रोत हाइड्रो र सोलार (सौर्य ऊर्जा)क्षेत्रमा मात्रै लगानी गर्न लागिएको हो।
निफ्राले ‘फोसेल फ्युल’ अर्थात् जीवास्म इन्धनको प्रयोगलाई घटाउने गरी बन्डमार्फत संकलित स्रोत सम्बन्धित क्षेत्रमा लगानी गर्नेछ। पेट्रोल, डिजेल, कोइला, र प्राकृतिक ग्यास प्रयोगलाई कम गर्ने भन्ने हो। यसको मुख्य उद्देश्य वातावरणीय प्रदूषण घटाउने, हरितगृह ग्याँस उत्सर्जन कम गर्ने र दीर्घकालीन रुपमा स्वच्छ र नवीकरणीय ऊर्जा स्रोततिर रुपान्तरण गर्ने हो।
निफ्राले उक्त डिबेन्चर जारी गर्न बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटललाई नियुक्त गरिसकेको छ।