काठमाडौं । आइतबारदेखि ओरालो लागेको सेयर बजारमा सोमबार ९६ अंकले घट्यो । आइतबार ४०.८२ अंकले घटेको सेयर बजार सोमबार भारी गिरावट आयो । सोमबार बजार ६ प्रतिशत घटेको छ । बजार निरन्तर ओरालो लागेपछि सेयर कारोबार साढे १ बजे बन्द भएको थियो ।
अर्थमन्त्री युवराज खतिवडाको निरन्तर नहुने हल्लाले बजारलाई केही तताएको थियो । ठुला लगानीकर्ताले चलाखीपूर्ण रुपमा सेयर बेचेर बाहिरिएपछि यसको असर बजारमा देखिएको विश्लेषण गरिएको छ ।

नेप्से परिसूचक घटेर १ हजार ४९५ अंकमा झरेको छ । दुई दिनमै सेयर बजार १३६ अंकले घटेको छ । सेयर बजारमा ठुला कारोबारीको तिब्र चलखेलले बजार घटेको एक ब्रोकरले बताए । उनले यस्तो चलखेलले बजार साना लगानीकर्ता फस्ने संभावना बढेको ती ब्रोकरको भनाई छ । बजार घट्न थालेपछि लगानीकर्तामा त्राश बढेको छ ।
सोमबार सेयर कारोबार आइतबारको तुलनामा आधा घटेको छ । सोमबार २ अर्ब १५ करोड ४४ लाख रुपैयाँ बराबरको ४९ लाख ८६ हजार ५४४ कित्ता सेयर किनबेच भएको छ । आइतबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको थियो ।
सबैभन्दा बढी जीवन र निर्जीवन बीमा परिसूचक घटेको छ । जीवन बीमा परिसूचक ६९० अंक झरेको छ । यस्तै निर्जीवन बीमा ५२४ अंक घटेको छ । यस्तै लघुवित्त १३५, उत्पादनमुलक १२५, बैंकिङ ९५ र होटल समूह ७९ अंकले घटेको छ ।
बजार घटेका बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल लाइफको १ हजार २७९ मा १५ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
घटन थालेपछि लगानीकर्तामा त्राश आउँदा बजारमा भारी गिरावट आएको नेसनल मर्चेन्ट बैंकरका प्रवन्ध निर्देशक नविन बाँस्कोटा बताउँछन । ‘बजार त्यसरी बढ्नु र आजको जसरी घट्नु हुँदैन थियो’ उनले भने ‘करेक्सन हुने संभावना थियो तर आजको जस्तो अपेक्षा गरिएको थिएन ।’
कारोबारी र ब्रोकरले यसबीचमा राम्रो आम्दानी गरे पनि लगानीकर्ता नाफाघाटा बराबरीको अवस्थामा पुग्न नसकेको उनको भनाई छ । बजारमा सेयरको आपूर्ति बढीरहेका बेला पुँजीकरण पहिलाको हारहारीमा रहेकाले वास्तविक लगानीकर्ताले अझै नकमाएको उनको विश्लेषण छ । बजार अबवास्तविक धरातलमा आइपुगेको उनको तर्क छ ।

यस्तै एनआईसी एसिया बैंकको ६३० मा १४ करोड ६१ लाख र एनएमबी बैंकको ४६३ रुपैयाँमा ८ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सोमबार प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, गरिमा विकास बैंक, आरएसडीसी लघुवित्त, शिखर इन्स्योरेन्स, सूर्या लाइफ, स्ट्यान्डर्ड चार्टर्ड, नेसनल माइक्रोफाइनान्स र नबिल बैंक, एभरेष्ट बेंक र माछापुच्छ्रे बैंकलगायतको सेयर मूल्य धेरै घटेको छ।
एनआईसी एसिया व्यालेन्स फण्ड, खानिखोला हाइड्रोपावर र श्री इन्भेस्टेमेन्ट एन्ड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन ।