काठमाडौं। यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ। आरोहण सुरु भएसँगै यो सिजनमा कीर्तिमान तोड्ने योजनासहित विश्वविख्यात आरोही कामीरिता शर्मा र टासी ग्याल्जेन शेर्पा सगरमाथा चुचुरोमा पुग्दै छन्।
विश्वकीर्तिमानी आरोही कामीरिता ३१औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा छन् भने टासी ग्याल्जेन २०औं दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनासहित सगरमाथा पुगेका छन्।
विश्व कीर्तिमानी अर्का आरोही सानु शेर्पा पनि यो सिजनमा पाहुना लिएर आरोहणमा पुगिसकेका छन्।
आठ हजार मिटरमाथिका हिमाल दुई पटक सफल आरोहण गरेका उनले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान तोड्ने योजनामा छन्।
हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएको पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्यांकमा उल्लेख छ।
विभागका अनुसार अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए। सगरमाथा आरोहणबाट मात्रै सरकारले ६५ करोड रोयल्टी पाएको थियो। सबै हिमाल आरोहणको रोयल्टी ७८ करोड संकलन भएको थियो।
समुद्री सतहदेखि पाँच हजार ३६४ मिटर उचाइ र माइनस २० डिग्रीको लुक्ला नाम्चे, वेसक्याम्पमा आरोही छन्। आधाजसो आरोही तेस्रो शिविरतिर पुगिसकेको महाशाखाले जनाएको छ।
सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको विभागका निर्देशक लीलाधर अवस्थीले बताए।
सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।
एटके एक्सपीडिसन कम्पनीका प्रबन्ध निर्देशकसमेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक संख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको औंल्याए।
उनका अनुसार मे १४ र १५ मा सगरमाथामा बढी ट्राफिक जाम हुने सम्भावना छ।
सगरमाथा आरोहण ४० दिनको हुने गर्छ। आरोही सगरमाथाको चुचुरोमा पुगेपछि दुई दिनभित्र आधारशिविर झर्छन्। उनीहरुले १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन्।