काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विद्युत् सर्किट सर्ट भएपछि शनिबार साँझदेखि राति ९ः२० बजेसम्मका लागि विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार सर्किटमा समस्या देखिएपछि तत्काल सबै वायुसेवा कम्पनीहरू र उड्डयनकर्मीलाई जानकारी गराउँदै औपचारिक नोटाम जारी गरिएको हो।
उनका भनाइअनुसार प्राविधिक टोलीले साँझ ५ बजेदेखि समस्या पत्ता लगाउने प्रयास गरिरहेको छ। तर, अहिलेसम्म सर्ट भएको स्थान ठ्याक्कै फेला परेको छैन।
विमानस्थल प्राधिकरणका अनुसार प्राविधिक टोलीले मर्मत कार्य तीव्र रुपमा जारी राखेको छ र समस्या समाधान भएपछि यथाशीघ्र उडान सञ्चालन पुनः सुरु गरिने तयारी भइरहेको छ।
शनिबार दिउँसो करिब ४ बजेदेखि धावनमार्गको विद्युत् सर्किटमा समस्या देखिएको थियो। प्रकाश नबलेपछि धावनमार्ग अन्धकार बनेको र त्यसपछि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू स्थगित गरिएको विमानस्थलले जनाएको छ।
दुबईबाट आएको फ्लाई दुबई सिमरामाथि केहीबेर ‘होल्ड’मा बसेर फर्किएको छ भने कोरियन एयर को उडान दिल्लीतर्फ डाइभर्ट गरिएको छ। त्यस्तै, जनकपुरबाट आएको बुद्ध एयर को विमान पनि सिमरामै फर्किएको बताइएको छ।
यसैबीच, काठमाडौंबाट दुबईका लागि फ्लाई दुबई, दिल्लीका लागि इन्डिगो एयरलाइन्स र हिमालय एयरलाइन्स का दुई विमान धावनमार्ग खुल्ने प्रतीक्षामा रहेका छन्।