काठमाडौं। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन बुझाएको छ।
आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व बढाउन सार्वजनिक निकायका पदाधिकारी अझ बढी जिम्मेवार र जवाफदेही बन्नु आवश्यक रहेको बताए।
‘सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो। सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने बै पदाधिकारीलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुन्छ भन्ठानेको छु’, राष्ट्रपति पौडेलले भने।
लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको उनको भनाइ थियो। ‘वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानुनको परिपालना एवं आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिन आवश्यक छ’, राष्ट्रपति पौडेलले भने।
उनले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
महालेखाबाट सरकारी वा सार्वजनिक स्रोत–साधन तथा सम्पत्ति सदुपयोग भए/नभएको, अनियमितता वा हानिनोक्सानी भए/नभएकोसमेतको विषय परीक्षण हुँदै आएको सन्दर्भमा प्रतिवेदनमा औंल्याइएका विषयले सम्बन्धित निकायलाई आर्थिक अनुशासन तथा वित्तीय उत्तरदायित्वप्रति थप सजग गराउने विश्वास व्यक्त राष्ट्रपतिले व्यक्त गरे।