काठमाडौं। विकास बैंकमध्ये टप ‘थ्रि’को दाबेदार गर्ने ज्योति विकास बैंकको आन्तरिक सिस्टम कमजोर रहेको पाइएको छ। बैंकले ‘आन्तरिक रिपोर्टिङ सिस्टम सटिक नभएको भन्दै नेपाल राष्ट्र बैंकले प्रष्टीकरण सोधेको हो।
राष्ट्र बैंक सुपरिवेक्षण विभागको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण युनिटबाट भएको निरीक्षणको क्रममा बैंकको रिपोर्टिङ सिस्टम प्रभावकारी नभएको विषय आएको राष्ट्र बैंक स्रोतले जनाएको छ।
‘ज्योतिको रिपोर्टिङ सिस्टम सटिक नभएको हुँदा तपाईलाई जरिवाना किन नगर्ने? भनेर स्पष्टीकरण सोधिएको छ। सिस्टम प्रभावकारी नहुँदा राष्ट्र बैंकको नियामकीय प्रावधानले कर्जा लिन रोकेको व्यक्तिहरूलाई पनि बैंकले कर्जा दिएको भेटिएको हो।
बैंकहरुले २ प्रतिशतभन्दा बढी बैंकको सेयर भएका व्यक्तिहरुले कर्जा लिन पाउँदैनन्। तर, बैंकको सिस्टममा सेयरधनीको विवरण नदेखाउने हुँदा त्यस्ता सेयरधनीलाई पनि बैंकका विभिन्न शाखाबाट कर्जा गएको स्रोतको भानाइ छ।
‘कर्जा लिने बैंकको सेयरधनी हो÷होइन भन्ने व्यक्तिको विवरण बैंकको सफ्टवोयरमा नदेखाउने रहेछ। त्यस्ता व्यक्तिले सेयर धितो राखेर कर्जा लिनु पर्दा राष्ट्र बैंकको स्वीकृति लिनु पर्छ। तर, बैंकले त्यस्ता व्यक्तिलाई पनि राष्ट्र बैंकको स्वीकृतिबिना कर्जा दिएको पाइएको छ। यस्ता सबै विषय देखाउने गरी सफ्टवोयर नराख्ने ज्योति विकास बैंकलाई पनि स्पष्टीकरण सोधिएको छ,’ स्रोतले भन्यो।
सिस्टमको कमजोरीलाई बैंकले समयमै समाधान गर्न नसकेको र समस्या समयमै समाधान गर्दा त्यसले भोलिका दिनमा बैंकलाई नै हानी गर्ने हुँदा राष्ट्र बैंकले ज्योति विकास बैंकलाई प्रष्टीकरण सोधेको हो।
बैंकको कर्मचारीको गल्तीले संस्थापक सेयरधनीले कर्जा लिएको भन्दा सिस्टम डेभलप नभएकाले गएको निरीक्षण रिपोर्टमा उल्लेख गरिएको छ। ‘प्रभावकारी सिस्टम नभएको कारण कर्जा नपाउनुपर्ने व्यक्तिले पनि कर्जा लिएको देखियो। बैंकको सिस्टममा ऋणी र सेयरधनीको विवरण मात्रै नभएर ब्याज दरलगायतका अन्य दर परिवर्तनको सूचना पनि स्वचालित (अटोमेटिक) रुपमा परिवर्तन नहुने निरीक्षण टोलीले भेटेका थिए।’
निक्षेपको ब्याजदर थपघट हुँदा पनि सिस्टममा नदेखाउने, नवीकरण गर्दा पुरानै ब्याज दरमा हुने, खाता खोल्दा, ऋण दिँदा ग्राहकको विवरण सिस्टममा राम्रोसँग नदेखाउने निरीक्षणका क्रममा भेटिएको थियो। सिस्टमको कमजोरीलाई बैंकले समयमै समाधान गर्न नसकेको र समस्या समयमै समाधान गर्दा त्यसले भोलिका दिनमा बैंकलाई नै हानी गर्ने हुँदा राष्ट्र बैंकले ज्योति विकास बैंकलाई प्रष्टीकरण सोधेको हो। जसमा बैंकले उपयुक्त जवाफ दिन नसकेमा जरिवाना तिर्ने, कार्यकारी अधिकृत र सञ्चालक समितिलाई सचेत गराइने स्रोतको भनाइ छ।
उक्त निरीक्षणको रिपोर्टले औँल्याएका विषयमा बैंकले चित्त बुझ्दो जवाफ पेश नगरे सुपरिवेक्षण विभागले गर्ने कामरवाहीको सूचीमा बैंक आगामी आर्थिक वर्षको पहिलो वा दोस्रो त्रैमासमा पर्ने छ। राष्ट्र बैंकको सम्बन्धित बैंक सुपरिवेक्षण विभागबाट भएको नियमित स्थलगत निरीक्षणको रिपोर्ट विभाग, उच्च व्यवस्थापन समिति र सञ्चालक समितिमा छलफल भएर आएको प्रष्टीकरणमा थप छलफल हुँदा कारवाहीको प्रतिवेदन सार्वजनिक हुन समय लाग्ने गरेको छ।
निरीक्षणको क्रममा टोलीले राष्ट्र बैंकले उल्लेख गरेर पठाएको व्यक्तिहरूको खाता रोक्का नगरेको भेटिएको र उक्त विषयमा बैंकले चित्त बुझ्दो जवाफ पेश नगरे आर्थिक जरिवाना, सञ्चालक र सिइओलाई सचेत तथा नसिहतसम्मको कारवाही हुन्छ।