काठमाडाैं। नेपाल बिमा प्राधिकरणले बिमा शिक्षा तथा साक्षरता प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ।
प्राधिकरणको केन्द्रीय कार्यालय र छ वटा प्रदेश कार्यालयद्वारा प्राधिकरणको ५७औं बार्षिकोत्सवको अवसरमा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिएको हाे।
प्राधिकरणले हरेक प्रदेशका एक–एक जना गरी ७ जनालाई प्रमाणपत्र र २० हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको जनाएको छ।
बागमती प्रदेशका विजेतालाई आइतबार केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रमका बिच नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन्।
प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा कोशी प्रदेशबाट विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी धनराज शाह, मधेस प्रदेशबाट वीरगञ्जस्थित नेशनल एकेडेमी क्याम्पसका विद्यार्थी कविता कुमारी यादव र बागमती प्रदेशबाट भक्तपुरस्थित ख्वप कलेज अफ लका दिल बहादुर भण्डारी विजयी भएका थिए।
यसैगरी, गण्डकी प्रदेशबाट पोखरा विश्वविद्यालय, स्कुल अफ विजनेसका विद्यार्थी कुसुम क्षेत्री, लुम्बिनी प्रदेशबाट रूपन्देहीस्थित बुटवल कालिका क्याम्पसका विद्यार्थी निरा अधिकारी, कर्णाली प्रदेशबाट सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, शिक्षाशास्त्र संकायका विद्यार्थी तारा कुमारी मल्ल र सुदूरपश्चिम प्रदेशबाट धनगढीस्थित कैलाली बहुमखी क्याम्पसका विद्यार्थी दिव्या पन्त निबन्ध प्रतियोगितामा विजयी भएका थिए।
‘गरीबी न्युनीकरण तथा देशको आर्थिक विकासमा बिमाको महत्व’ शीर्षकमा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा देशका विभिन्न क्याम्पसहरूमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबाट गरी जम्मा ८९ वटा निबन्ध प्राप्त भएको प्राधिकरणले बताएकाे छ।