काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली कुनै हालतमा अर्थशास्त्री विश्वनाथ पौडेललाई राष्ट्र बैंककाे गभर्नर नबनाउने पक्षमा पुगेका छन्।
गभर्नर छनोट समितिले पौडेलसहित अन्य दुई जनाको नाम सिफासिर गर्न खोजेसँगै प्रधानमन्त्री ओलीले समिति संयोजक विष्णुप्रसाद पौडेललाई मैले भनेका नाम मात्रै अनुमोदन गराएर ल्याउन भनेपछि सम्पूर्ण प्रक्रिया रोकिएको हाे।
कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीको कमन क्यान्डिडेट पौडेल भएको सार्वजनिक भए पनि अहिले ओली पौडेललाई कुनै हालतम पनि गभर्नर नियुक्त नगर्ने पक्षमा उभिएका हुन्।
ओलीले सभापति देउवालाई पौडेलको मुद्दा अदालतमा पर्ने भएकाले अन्य विकल्प खोज्न गरेको आग्रहलाई सीधै इन्कार गरिदिए। ‘मुद्दा पर्दै गर्छ, उनैलाई गभर्नर बनाउनुस्,’ देउवाले ओलीलाई भनेका थिए, ‘तर, ओली विश्वनाथलाई गभर्नर नबनाउने अडानमा पुगे।’
आफूसँग राम्रोसँग नबोल्ने व्यक्ति (पौडेल)लाई कुनै हालतका गभर्नर नबनाउने अडान लिएपछि सोमबार हुने भनिएकाे गभर्नर नियुक्तिका सबै प्रक्रिया रोकिएका छन्। ‘सोमबार नै ओलीले पौडेललाई फोन गरेर आफूले भनेको नाम राखेर ल्याउन भनेका हुन्,’ स्रोतले भन्यो, ‘तर, ओलीले को व्यक्ति गभर्नर बनाउन चाहेका हुन्, त्यो खुलाएका छैनन्।’
ओलीले गभर्नरका सवालमा देउवालाई निरन्तर बदनाम गराइरहेका छन्। देउवा वचनका पक्का मानिन्छन्। उनै देउवाले राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बन्नका लागि राजीनामा गराएका थिए। त्यसमा पनि ओलीले देउवालाई धोका दिए।
त्यसपछि छनाेट समिति पौडेललाई गभर्नर बनाउन भन्दै समितिबाट राजीनामा गराए। पौडेलको नाममा पनि ओली मानिरहेका छैनन्। अहिले छनोट समिति संयोजकलाई गभर्नरको नाम आफूले भन्ने र त्यसैअनुरुप नयाँ नाम लिएर आउन आदेश गरिरहेका छन्।