काठमाडौं । वाणिज्य बैंकहरुले अब सुनलाई निक्षेपका रुपमा स्वीकार गर्न पाउने भएका छन । बैंकहरुले नगदलाई मात्र निक्षेपका रुपमा लिने गरेकोमा अबदेखि सुनलाई पनि स्वीकार गर्न पाउने भएका हुन ।
नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी नेपाली नागरिकबाट सुन निक्षेपको रुपमा लिन सक्ने व्यवस्था गरेको हो । सर्वसाधारणले आफुसंग भएको सुनलाई वाणिज्य बैंकमा राखेर ब्याज आम्दानी गर्न सक्ने भएका छन ।
वाणिज्य बैंकहरुले सुन निक्षेपको विस्तृत कार्ययोजना बनाइ सो सञ्चालक समितिबाट पारित गरेको हुनुपर्ने भएको छ । ९.९५ प्रतिशत शुद्धता भएको सुन मात्र स्वीकार गर्नुपर्ने छ । बैंकहरुले ग्राहकबाट लिएको सुनको सुरक्षाको व्यवस्था मिलाउनु पर्ने निर्देशनमा उल्लेख छ ।
निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस
बैंकहरुले न्युनतम २५ ग्राम सुनलाई निक्षेपका रुपमा स्वीकार गर्न पाउने भएका छन । सुन निक्षेपको अवधि न्युनतम ३ वर्षदेखि ५ वर्षसम्मको हुने छ । सीमा तोके पनि सुन निक्षेपलाई नविकरण गर्न केन्द्रीय बैंकले बाटो खुला गरेको छ ।
सुन निक्षेपको ब्याजदर बैंक आफैले निर्धारण गर्न सक्ने छन । नगद लिने ग्राहकलाई चौमाशिक भुक्तानी र सुनमा ब्याज लिनेलाई त्रैमाशिक रुपमा गणना गरी कम्पाउन्डिङ ब्याजमा गणना गरी निक्षेप अवधिपछि सुनमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
१० लाख रुपैयाँ भन्दा बढी सुन निक्षेपमा राख्दा ग्राहकले अनिवार्य रुपमा स्रोत खुलाउनु पर्ने व्यवस्था गरिएको छ । सुन निक्षेप प्रमाणपत्र सोही बैंकमा धरौटी राखी निक्षेपमा रहेको सुनको ७० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले सर्वसाधारणसंग भएको सुनलाई पनि निक्षेपको रुपमा स्वीकार गर्ने व्यवस्था गरेपछि राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरी खुला गरेको हो । यो व्यवस्थाले अब घरमा भएका सुनलाई नगदमा परिणत गर्न बाटो खुला भएको छ ।