काठमाडौं। एक वर्षमै शंकास्पद वित्तीय कारोबार ४९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष शंकास्पद वित्तीय कारोबार निगरानी गर्ने नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइमा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या ९ हजार ३ सय ४ पुगेको हो।
अघिल्लो वर्ष सन् २०२३ मा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या ६ हजार २ सय ५५ रहेको थियो। सन् २०२४ मा सो संख्या करिब ४९ प्रतिशतले वृद्धि भएकाे राष्ट्र बैंकले जनाएको छ।
वित्तीय जानकारी इकाई–एफआइयू नेपालको सन् २०२४ का गतिविधिसम्बन्धी न्यूजलेटर सार्वजनिक इकाईले सन् २०२४ (जनवरीदेखि डिसेम्बरसम्म) का गतिविधिहरू समेटेर न्यूजलेटर प्रकाशन गरेको छ।
न्यूजलेटर (चौँथो संस्करण) मा इकाईको सन् २०२४ का मुख्य/मुख्य काम कारबाही, जानकारीमूलक सामग्री तथा लेखहरू समावेश गरिएको छ। उक्त न्यूजलेटरमा मुख्यतः देहायका विषयहरू उल्लेख भएका छन्।
–सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या सन् २०२३ मा ६,२५५ रहेकोमा सन् २०२४ मा सो संख्या करिब ४९ प्रतिशतले वृद्धि भई ९,३०४ पुगेको छ।
प्राप्त प्रतिवेदनहरूमध्ये सन् २०२४ मा इकाईले जम्मा १,८९४ प्रतिवेदन विश्लेषण गरेकोमा सो मध्ये १,०८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने र अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरेको छ। सो मध्ये ८०८ वटा प्रतिवेदन इकाईले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ।
–सूचक संस्थाहरूले इकाईमा सन् २०२३ मा १७,८३,१८३ वटा सीमा कारोबारको विवरण पेस गरेकोमा सन् २०२४ मा सो संख्या १९,७२,८५५ पुगेको छ।
–सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ्ग तथा पत्राचारका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्नेरअनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा संख्या सन् २०२३ को अन्त्यमा १,४९६ रहेकोमा सन् २०२४ को अन्त्यमा १,९०५ पुगेको छ।
–इकाईका कर्मचारी, सम्बद्ध निकाय तथा सूचक संस्थाहरूको क्षमता अभिवृद्धिसम्बन्धी सन् २०२४ मा इकाईले गरेका वा सहभागी भएका विविध गतिविधिहरू बारे जानकारी दिइएको छ।
–सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा इकाईले सन् २०२४ मा गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी कार्यहरू प्रस्तुत गरिएको छ।
–सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा वित्तीय जानकारी इकाईद्वारा लिखित दुईवटा लेखहरू समावेश गरिएको छ।