काठमाडाैं। पूर्वीलमजुङको राइनास नगरपालिका–९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।
२०७२ मा गएको भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ पुनःनिर्माण गरेर घरबास (होमस्टे) सञ्चालन भएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको हो।
राइनास होमस्टेबाट केही माथि रहेको राइनासकोटबाट देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रेलगायत एक दर्जनभन्दा बढी हिमशृङ्खलाको रमणीय दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ।
काठमाडौंबाट लमजुङको राइनासकोट पुगेका डा ज्योतिप्रसाद गजुरेलले यहाँको आतिथ्यता र ऐतिहासिक थलो राइनासकोट भ्रमणले आफूलाई आनन्द तुल्याएको बताए। यहाँको हावापानी र सुन्दर, मनोरम दृश्यले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका उनको बुझाइ छ।
उक्त डाँडाबाट गोरखाको पर्यटकीयस्थल बारपाक,लाप्राक, भच्चेक, पालुङटार, सिरानकोट, गोरखाबजार, तनहुँको आँबुखैरनी, डुम्रेबजार, बन्दिपुर, दमौलीलगायत गाउँहरू सजिलै देख्न सकिन्छ। लमजुङको सदरमुकाम बेँसीसहर, भोटेवडार, सुन्दरबजार, भोर्लेटार, दुराडाँडा र पूर्वीलमजुङका अधिकांश भागसमेत उक्त डाँडाबाट आँखै अगाडि देख्न सकिन्छ। स्थानीयका अनुसार उक्त स्थानबाट १८ जिल्ला देख्न सकिन्छ।
यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे–चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवं सांस्कृतिक महत्त्वका स्थलले यहाँको गरिमा र महत्त्व चुलिएको छ।