काठमाडौं। आगामी आर्थिक वर्षको बजेट सार्वजनिकको मिति नजिकिएसँगै अर्थ मन्त्रालय बजेट वक्तव्य बनाउन व्यस्त बनेको छ। मन्त्रालयमा विभिन्न क्षेत्रहरुबाट आएको सुझावलाई ध्यान दिँदै अर्थ मन्त्रालय निर्माणमा व्यस्त बनेको हो।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावलाई ध्यान दिँदै बजेट निर्माण भइरहेको हो। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बजेट निर्माण तीव्र गतिमा भएको हो।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे मन्त्रालय, विभाग, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको थियो। मन्त्री पौडेलले सत्ता साझेदारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूसँग परामर्श गरेका थिए।
यसअघि अर्थ मन्त्रालयले पूर्वअर्थमन्त्रीहरूसँग परामर्श गरेको थियो। त्यसैगरी पूर्व अर्थसचिवहरु, अर्थ विद्हरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका विषयतगत संघसंस्थासँग छलफल भएको थियो।
बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी, नागरिकले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए। मन्त्रालयले बजेटसम्बन्धी सुझाव दिनका लागि सार्वजनिक रुपमा आह्वान गरेको थियो।
सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथिमकताबारे संसदमा छलफल भइसकेको छ। बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षालगायतलाई क्षेत्रगत प्रथामिकतामा राखिएको छ।