काठमाडौं । सेयर बजारलाई गति दिने सामूहिक लगानी कोषमा (म्युचअल फण्ड) मा आकर्षण घटेको छ । चालु आर्थिक वर्ष सुरु भएयता ८ महिनाको अवधिमा एउटा मात्र म्युचल फण्ड निष्कासन भएको छ ।
सनराइज बैंकको सनराइज क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सनराइज फस्र्ट म्युचअल फण्ड मात्र निष्कासन गरेको छ ।
त्यसपछि यता एउटा पनि म्युचअल फण्ड बजारमा आएको छैनन । नेपाल धितोपत्र बोर्डमा एनआईसी एसिया क्यापिल लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ५ करोड एकाई एनआईसी एसिया डायनमिक फण्ड, सानिमा क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ सानिमा लार्जक्याप फण्ड र लक्ष्मी क्यापिटल लिमिटेडले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई लक्ष्मी उन्नति फण्ड निष्कासनका लागि आवेदन दिएका छन ।
सेयर बजार घटेर प्रतिएकाई लागत मूल्य भन्दा कम भएपछि मर्चेन्ट बैंकरहरुले जोखिम लिन नचाहेको नेसनल मर्चेन्ट बैंकरका प्रवन्ध निर्देशक नविन बाँस्कोटा बताउँछन । उनले म्युचअल फण्ड नै बिक्री हुने संभावना नदेखेपछि नल्याएको स्पष्टपारे ।
सेयर बजार ओरालो लागेपछि म्युचअल फण्डको कुल सम्पत्ति घटेर प्रतिएकाई ८ रुपैयाँसम्म झरेको उनले जानकारी दिए । बजार अब सकरात्मक बाटोतर्फ जान लागेकाले म्युचअल फण्ड निष्कासन बढ्ने उनको भनाई छ ।
बैंकहरुको ध्यान ऋणपत्र (डिवेञ्चर) मा गएका कारण म्युचअल फण्ड निष्कासन कम भएको हुन सक्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताए ।
अब विस्तारै म्युचअल फण्ड निष्कासन बढ्ने उनले जानकारी दिए । बीमा कम्पनीहरुले पनि म्युचअल फण्ड निष्कासन गर्न पाउने भएकाले पनि आगामी दिन निष्कासन बढ्नेको ढुङ्गानाको भनाई छ ।
सेयर बजार निरन्तर ओरालो लागेपछि मर्चेन्ट बैंकरहरुले म्युचअल फण्ड नल्याएको लगानीकर्ताको भनाई छ । म्युचअल फण्डको अधिकाँश रकम सेयर बजारमा लगानी हुने भएकाले बजार घटेपछि यसको असर परेको लगानीकर्ता बताउँछन ।
फागुन लागेपछि बजार बढे पनि पुनः घट्न थालेको छ । नेप्से परिसुचक बढेर १ हजार ६०० अंक नजिक पुगेकामा अहिले पुनः घट्न थालेको छ ।
अन्य मर्चेन्ट बैंकरहरुले म्युचअल फण्ड निष्कासनका लागि आवेदन दिएका छैनन । सेयर बजार निरन्तर ओरालो लागेपछि यसको असर म्युचअल फण्डमा परेको मर्चेन्ट बैंकरको भनाई । सञ्चालनमा रहेका अधिकाँश म्युचअल फण्डको प्रतिफल पनि घटेको छ ।
सेयर बजार घट्दा म्युचअल फण्डको खुद सम्पत्ति पनि कम हुदै गएको छ । म्युचअल फण्डको अधिकांश लगानी सेयरमा हुने गरेको छ । पछिल्लो समयमा बजार घटेपछि यसको असर फण्डको खुद सम्पत्तिमा परेको हो ।
हाल सञ्चालनमा रहेका १ दर्जन बढी म्युचअल फण्डमध्ये अधिकाँशको खुद सम्पत्ति घटेको छ ।गत वर्ष अधिकाँश मर्चेन्ट बैंकरले म्युचअल फण्ड निष्कासन गरेका थिए । म्युचअल फण्ड पनि पुँजीबजारको एउटा औजार हो ।
के हो म्युचुअल फण्ड ?
विभिन्न व्यक्ति वा संस्थाको सहभागिता रहने गरी परिचालन गरिएको बचत रकमलाई आफ्नो जिम्मा लिई त्यसको दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीलाई समानुपातिक तरिकाले वितरण सचालन गरेको लगाानी कोष म्युचुअल फण्ड हो ।