काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा गभर्नरका प्रतिस्पर्धीमध्ये एक रहेका प्रकाशकुमार श्रेष्ठ अनिवार्य अवकाशमा गएका छन्।
राष्ट्र बैंकमा झन्डै २७ वर्षको सेवापछि श्रेष्ठले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो सेवायात्राको समापन, गभर्नर चयनसँग जोडिएको भ्रम र नयाँ गभर्नरलाई शुभकामनासहित भावुक टिप्पणी सार्वजनिक गर्दै अवकाशको निर्णय लिएका हुन्।
श्रेष्ठले लेखेका छन्, ‘आजदेखि युवा अवस्थाको उर्बर समयको करिब साढे २७ वर्ष बिताएर नेपाल राष्ट्र बैंकको स्थायी जागिरबाट अनिवार्य अवकाशमा पुगेको छु।’ राष्ट्र बैंकमार्फत आफूले उच्च अध्ययनदेखि लिएर मौद्रिक नीति र केन्द्रीय बैंकसम्बन्धी तालिमहरूमा सहभागी हुने अवसर पाएको उल्लेख गर्दै उनले संस्थाप्रति आभार प्रकट गरेका छन्।
श्रेष्ठका अनुसार उनी छात्रवृत्तिमा उच्च अध्ययन गर्न जाँदा केन्द्रीय बैंकलाई उपयोगी हुने समष्टिगत, मौद्रिक र वित्तीय अर्थशास्त्रमा केन्द्रित रहे। उनले लेखेका छन्, “पीएचडीको शोध ‘साना अर्थतन्त्रमा मौद्रिक नीति, बैंकिङ प्रणाली र विदेशी विनिमय सञ्चिति’ मा केन्द्रित थियो।’

राष्ट्र बैंकभित्र विभिन्न विभाग र कार्यालयमा जिम्मेवारी सम्हाल्दा आफूले निष्ठापूर्वक योगदान दिएको उनको दाबी छ। उनले थप लेखेका छन्, ‘बेलाबखत सरकारले दिने जिम्मेवारी पनि सम्हाल्ने अवसर मिल्यो, जसले खारिन र अनुभव बढाउन सघायो। तर राष्ट्र बैंकमा अझै समयसापेक्ष सुधारको खाँचो छ।’
गभर्नरको आकांक्षा र राजीनामा प्रकरण
श्रेष्ठले राष्ट्र बैंककै क्याडरको हैसियतमा गभर्नर पद रिक्त हुँदै गर्दा गभर्नर बन्ने सम्भावना देखेर आफूले समयमै राजीनामा दर्ता गराएको खुलासा गरेका छन्। उनले स्पष्ट पारेका छन् कि यदि सरकारलाई मौद्रिक अर्थशास्त्री आवश्यक लागेमा कानुनी वा व्यावहारिक समस्या नहोस् भन्ने सोचले उनले राजीनामा दिएका थिए। तर, पछि त्यस्तो आवश्यकता नरहेको देखिएपछि राजीनामा निष्क्रिय भएको हो।
‘कामु गभर्नरले मेरो राजीनामा स्वीकृत गरेनन् भन्ने कुरा सत्य होइन’, उनले लेखेका छन्। राष्ट्र बैंकले नयाँ गभर्नरका रूपमा कृषि, स्रोत व्यवस्थापन र आर्थिक इतिहासमा दक्ष व्यक्ति नियुक्त गरेकामा उनले प्रसन्नता व्यक्त गर्दै शुभकामना दिएका छन्। ‘पक्कै पनि नयाँपन आउनेछ। उहाँलाई हार्दिक बधाई र कार्य सफलताको शुभकामना,’ श्रेष्ठले लेखेका छन्।
अझै सार्वजनिक सेवामै सक्रिय
केही सञ्चार माध्यममा आफू अवकाशसहित सम्पूर्ण रूपमा सेवा निवृत्त भएको भन्ने खबर आएको उल्लेख गर्दै श्रेष्ठले त्यसमा स्पष्टता दिएका छन्। ‘म अझै पनि सार्वजनिक सेवामा छु,’ उनले लेखेका छन्।
उनका अनुसार, नेपाल सरकारले उनलाई गत साउनदेखि राष्ट्रिय योजना आयोगको सदस्यको रूपमा नियुक्त गरेको छ। ‘आफ्नो बुद्धि र विवेकले भ्याएसम्म आयोगको जिम्मेवारी निर्वाह गरिरहेको छु। थप प्रभावकारिताको लागि संस्थाको पुनरसंरचना आवश्यक देखिन्छ,’ श्रेष्ठले बताएका छन्।
भविष्यमा सार्वजनिक सेवाबाट बाहिरिए पनि शैक्षिक, बौद्धिक, सामाजिक वा व्यावसायिक काममार्फत देशलाई सहयोग गर्ने अभिप्राय व्यक्त गर्दै उनले लेखेका छन्, ‘खुला आकाशमा विचरणको मजा पनि अर्कै हुनेछ।’