काठमाडौं। सहयोग सानो होस् या ठूलो। सफा मन र दिलले दिएको जतिनै भए पनि ठूलो हुन्छ। सहयोगीको मन कस्तो रहेछ भन्नेमा फरक हुन्छ। कुनै सहयोग यस्तो हुन्छ, अंक सुन्दा थोरै लाग्छ। तर, भावनात्मक रुपमा त्यसले ठूलो अर्थ राख्छ।
एउटा चिया पसलले दैनिक बिक्रीको एक कप चियाको पैसा बाल अस्पताललाई छुट्याएको भन्दा अचम्म लाग्न सक्छ। तर, यो वास्तविकता हो।
एक वर्षअघि काठमाडौंको पेप्सीकोलामा सञ्चालित आमा डेरी एण्ड बेकरी क्याफेले डा. भगवान् कोइराला नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई दैनिक एक कप चियाको पैसा जम्मा गरेर हस्तान्तरण गरेको छ।
क्याफे सञ्चालिका शकिला कार्कीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पतालका सञ्चालक डा. कोइरालालाई हालसम्म संकलित १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेकी हुन्। ‘ठूला–ठूला बिजनेस हाउसले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति रहेपनि ससाना व्यवसायमा यो खाले चलन छैन,’ सञ्चालिका कार्कीले भनिन्, ‘हामीले सानै रकम भए पनि सामाजिक उत्तरदायित्वका लागि छुट्याएर केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो।’
क्याफेमा दैनिक चिया बिक्री भएमध्ये एक कपको पैसा जम्मा गरिराखिएको र सोही रकम अस्पताल निर्माणमा हस्तान्तरण गरिएको उनको भनाइ छ। ‘स–सानो सहयोगबाटै ठूलो रकम जम्मा हुने भएकाले हरेक चिया पसलले दिनको एक कप चियाको रकम मात्र छुट्याउँदा पनि ठूलो हुन्छ भन्ने सन्देश दिन खोजिएको हो,’ सञ्चालिका कार्कीले भनिन्, ‘डा. कोइरालाको अभियानमा ठूलो सहयोग पुग्न सक्छ।’
आमा डेरी एण्ड बेकरी क्याफे सञ्चालिका शकिला कार्कीले दैनिक एक कप चिया बिक्रीको १ रुपैयाँ संकलन गरेरकाठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पतालका सञ्चालक डा. कोइरालालाई १० हजार सहयोग हस्तान्तरण गरेकी हुन्।
पछिल्लो समय चिया पसल सञ्चालनको लहर चलिरहेका बेला बाल अस्पताल निर्माणका लागि अभियान चलाउन सकिए २० हजार चिया पसलले दिनको एक कप चिया (३०) रुपैयाँ मात्र छुट्याउँदा पनि एक वर्षमा २ अर्ब बढी संकलन हुने उनको अनुमान छ।
‘त्यसैले बाल अस्पताल निर्माणका लागि हरेक चिया पसलले दिनको एक कप चियाको रकम दिने वातावरण मात्र मिलाउन सके अरु कहीँबाट उठाउनै पर्दैन। डा. कोइरालाको अभियानको नेतृत्व गर्न तयार छु’, सञ्चालिका कार्कीले भनिन्।
अस्पताल निर्माण सम्पन्न नभएसम्म आमा डेरी एण्ड क्याफेले नियमित रुपमा सहयोग गर्ने उनको भनाइ छ। त्यसका लागि डा. कोइराला आफैले पनि एक कप चियाको ३० रुपैयाँ जम्मा गरिसकेका छन्।
चिया बेचेको पैसा लिँदै डा. कोइरालाले स–सानो सहयोग पनि ठूलो हुने हुँदा स्वच्छ मन लिएर सहयोग गर्नेको सहयोग सधंै लिन तयार रहेको बताए। ‘सानो लगानीमा खुलेको चिया पसलको ठूलो दिललाई धन्यवाद,’ डा. कोइरालाले भने, ‘तपार्इंहरूको यो विश्वासलाई मर्न दिन्नँ।’