काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अन्तिम चरणमा पुगेको छ। केन्द्रीय बैंकले तेस्रो त्रैमासिक समीक्षाको मस्यौदा तयार गरी छलफलमा सञ्चालक समितिलाई बोलाएको हो।
मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३, (प्रथम संशोधन, २०७९)ले राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ।
मौद्रिक नीति तर्जुमा तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्न दिएको समय जेठ १५ गते बिहीबारसम्म हो। तर, कार्यविधिले दिएको समयअगावै समीक्षा सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए।
‘जेठ १५ गतेसम्म समय हो। तर, उक्त दिन सार्वजनिक बिदा भएको हुँदा १४ गते बुधबार साँझसम्म मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्छौं,’ राष्ट्र बैंक प्रवक्ता पौडेलले क्यापिटल नेपालसँग भने।
प्रवक्ता पौडेलले जेठ १४ गतेसम्म भने पनि गभर्नर कार्यालयबाट सञ्चालक समिति सदस्यलाई जेठ ११ गते (आज) बैठक बोलाइएको छ। विभिन्न बैंकहरूको स्थलगत सुपरिवेक्षण रिपोर्टमा छलफलसँगै मौद्रिक नीतिको त्रैमासिक समीक्षाको मस्यौदामा समेत छलफलको एजेण्डा राखेर सञ्चालक समिति बैठक आइतबार साँझ ५ बजेका लागि बोलाइएको हो।
गभर्नर डा. विश्वनाथ पौडेलले बिहान ११ बजे उच्च व्यवस्थापन समितिको बैठक बोलाएर समीक्षाको मस्यौदा परित गराइसकेका छन्। सञ्चालक समिति बैठकले पारित गरेमा सम्भवत मौद्रिक नीति तेस्रो त्रैमासिक समीक्षा आज साँझ सार्वजनिक हुनेछ। गभर्नर डा. पौडेलले बजेटअघि त्रैमासिक समीक्षा सार्वजनिक गर्न लागेका हुन्।
तर, आफ्नो उपस्थिति बजारलाई महसुस गराउने सोचमा नयाँ गभर्नर डा. पौडेलले त्रैमासिक समीक्षालाई लिएमा बैंकर्स, निजी क्षेत्र र सरकारी पक्षबाट उनलाई गभर्नरको शुभकामना दिँदा औँल्याइएको विषय समेट्न सक्ने देखिन्छ।
गत जेठ ६ गते सरकारले राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गरेको डा. पौडेलको यो पहिलो मौद्रिक निणर्य हुनेछ। उनी राष्ट्र बैंक आएको एक साता मात्रै भएको हुँदा बैंकिङ क्षेत्रको आवश्यकताबारे थप अध्ययन गरेर मात्रै ठूला नीतिगत निर्णय गर्ने भएमा यो त्रैमासिक समीक्षा पुरानै नीति यथावत रहेर सार्वजनिक हुन सक्ने देखिन्छ।
तर, आफ्नो उपस्थिति बजारलाई महसुस गराउने सोचमा नयाँ गभर्नर डा. पौडेलले त्रैमासिक समीक्षालाई लिएमा बैंकर्स, निजी क्षेत्र र सरकारी पक्षबाट उनलाई गभर्नरको शुभकामना दिँदा औँल्याइएको विषय समेट्न सक्ने देखिन्छ।
यद्धपि बजारको आवश्यकताअनुसार यसअघि मौद्रिक नीति दोस्रो समीक्षा र यसबीच परिपत्रमार्फत कर्जाको नोक्सानी व्यवस्थामा संशोधन, निर्माण क्षेत्रका व्यवसायी ऋणीलाई ऋण तिर्न समय थप, सवारी कर्जाको नीतिमा संशोधनलगायतका नीतिगत निर्णयहरू गरिएका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने छ भने राष्ट्र बैंकले बजेटले निर्धारण गरेको वित्तीय नीतिलाई सम्बोधन गर्ने गरी साउन १५ गतेसम्म नयाँ मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने छ।
मौद्रिक नीति तर्जुका अनुसार राष्ट्र बैंक नयाँ मौद्रिक नीति निर्माणका लागि आवश्यक गृह कार्यको चरणामा अहिले नै छ। त्यस कारण यसबीच आउने त्रैमासिक समीक्षामा ठूलो नीतिगत हेरफेर हुने सम्भावना न्यून छ।