काठमाडौं। मूल्य आकासिन थालेसँगै सुनको आयात करिब ५० प्रतिशतले घटेको छ। गत वर्ष साढे २६ सय केजी सुन आयात भएकोमा चालू वर्षको जेठ पहिलो सातासम्म १३ सय ३३ केजी मात्रै सुन आयात भएको हो।
११ महिनाको अवधिमा सुन आयात ४९.७१ प्रतिशतले घटेको हो। हाल नेपाली सुनचाँदी बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँको (१ लाख ९० हजार) हाराहारी पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार चालू वर्षमा सुन प्रतितोला न्यूनतम १ लाख ८१ हजार ८ सय र अधिकतम १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो। गत वर्ष न्यूनतम १ लाख ३४ हजार ५ सय रुपैयाँ र अधिकतम १ लाख ८६ हजार रुपैयाँसम्म पुगेको थियो।
सुनको मूल्य बढ्दो क्रममा हुँदा बजारमा सुन खपत भने घट्दो क्रममा रहेको नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकले देखाउँछ। कोभिडकाल समाप्त भएर आर्थिक गतिविधि चलायमान हुन थालेपछि र चालू वर्षको तथ्यांक तुलना गर्ने हो भने यसबीच सुनको आयात ७३.६२ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा ५० सय ५३ केजी सुन आयात भएको थियो। उक्त आर्थिक वर्ष सुन प्रतितोला न्यूतम ९९ हजार ९ सय रुपैयाँ र अधिकतम १ लाख रुपैयाँसम्म पुगेको थियो।
सुनको मूल्य बढ्दो क्रममा हुँदा बजारमा सुन खपत भने घट्दो क्रममा रहेको नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकले देखाउँछ।
सुनको आयात घट्नुमा मूल्य वृद्धिले प्रत्यक्ष प्रभाव पारेको भए पनि अप्रत्यक्ष रुपमा उपभोक्ताको क्रय शक्ति घट्नु र बजार माग चोरी पैठारी भएका सुनले पुर्ति गर्नु प्रमुख कारण रहेको सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेस रत्न शाक्य बताउँछन्।
‘२/४ वर्षमा सुनको मूल्य असाध्यै वृद्धि भएको कारणले पनि खपत कम हुँदा आयात घटेको हो। चालू वर्ष नै करिब ४३ प्रतिशत बढीले मूल्य बढेको छ,’ संघका उपाध्यक्ष शाक्यले क्यापिटल नेपालसँग भने, ‘ग्राहकले बढेको मूल्यलाई वास्तविक भनेर विस्वास गरेनन् त्यसले गर्दा उनीहरुले भने नेपालीहरुको क्रय शक्तिभन्दा बढी सुनको मूल्य बढेपछि पनि खपत घट्दा आयात घटेको हो।’
विगत २/३ वर्षयता समग्र अर्थतन्त्र नै मन्दीमा रहेको र आर्थिक गतिविधि चलायमान नहुँदा नेपालीहरुको बचत घट्दो क्रममा हुँदा सुन खरिदको क्षमता घट्दा आयात घटेको उनको भनाइ छ। साथै, नेपालको भन्सार नीतिको कारण पनि सुनको आयात घटेको उनी बताउँछन्।
‘सुन आयात घट्नु भन्सार पनि मुख्य कारणमध्ये एक हो, सुन आयातमा भन्सारदर भारतमा ६ प्रतिशत हुँदा नेपालमा २० प्रतिशत थियो, सरकारले सिमा नाकामा कडाइ गर्न सकेको छैन, सस्तोमा पाइने चोरी पैठारीको सुनले माग पुरा गर्दा पनि औपचारिक माध्यमको सुनको आयात घटेको हुन सक्छ, ’ उनले भने।
सरकारले चालू आवको बजेटमार्फत् चाँदीको भन्सारदर ५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो। सुनको १५ प्रतिशतबाट २० प्रतिशत पुर्याएको थियो। तर, व्यवसायी र अन्य सरोकारवालाले सरकारसँग सुनचाँदीको भन्सार दर एकैपटक धेरै बढाउँदा तस्करी मौलाएर राजश्वमा प्रभाव परेको भन्दै घटाउन माग गरेका थिए।
सुझाव सम्बोधन गर्दै सरकारले गत मंसिर दोस्रो साता सुन र चाँदीको भन्सारदर १० प्रतिशत कायम गरेको हो। सरकारले ६ महिना पछिमात्रै बढेको भन्सारदर घटाएको हो। यसबीच तस्करीहरुले नेपाल भित्र्याउने सस्तो सुनले औपचारिक माध्यमबाट आउने सुनको माग घटाउँदा आयात घटाएको उनको भनाइ छ।
बैंकर्स संघको तथ्यांकअनुसार चालू आर्थिक वर्षको जेठ ३ गतेसम्म १३ सय ३३ केजी सुन आयात भएको छ।
‘हाम्रो खुला नाका छ, जेठदेखि मंसिरकोबीचमा भन्सारदर २० प्रतिशत हुँदासम्म केही फरक भएको हुनसक्छ, भन्सारदर भारतमा कम हुँदा नेपालमा धेरै भए चोरी पैठारी बढ्छ, सरकारले भन्सारदर घटाउँन नै ६ महिना समय लगायो। यसबीच तस्करी र चलखेल गर्नेले धेरै समय पायो। सरकारले भारत र नेपालमा समान्तर भन्सार नीति अपनाउन सक्यो भनेमात्रै चोरी पैठारी रोकिन्छ,’ उनले भने।
सरकाले भारतमा भन्सारदर परिवर्तन भएको एक साताभित्रमै नेपालमा पनि दर परिवर्तन गर्ने सिस्टम विकास गर्नुपर्ने उनको भनाइ छ। हाल भारतमा सुनमा ६ प्रतिशत भन्सार कायम गर्दा नेपालमा १० प्रतिशत छ।
यो ४ प्रतिशतको फरकमा पनि ग्राहकले नेपालमा महंगो पर्ने भन्दै भारतबाट तस्करीमार्फत आउने सुनको खपत गर्दा औपचारिक माध्यमको आयात घटेको उनको बुझाइ छ।
बैंकर्स संघको तथ्यांकअनुसार चालू आर्थिक वर्षको जेठ ३ गतेसम्म १३ सय ३३ केजी सुन आयात भएको छ। जसमध्ये कृषि विकास बैंक, एनआइसी एशिया बैंक र नबिल बैंकमा गरी ८८.५ केजी स्टकमा रहेको छ। एनआइसीको पलिेकै स्टक हो भने, बैंशाख २ गते कृषि विकास बैंक र नबिल बैंक ल्याएको सुन स्कटमा बसेको छ।
संघको तथ्यांक अनुसार आव ०८०/८१ मा २६ सय ५०.५ केजी, आव ०७९/८० मा २९ सय १६.५ केजी, आव ०७८/७९ मा ५० सय ५३ केजी, आव ०७७/७८ मा ३९ सय २४.५ केजी र आव ०७६/७७ मा २४ सय केजी सुन आयत भएको थियो।