कञ्चनपुर। कञ्चनपुरमा लक्ष्यअनुसार राजस्व संकलन हुनसकेको छैन। कोरोना महामारीपछि शिथिल बनेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारका तर्फबाट सुधारका प्रयास भए पनि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो।
कञ्चनपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य पाएकामा वैशाखसम्म ४९ करोडमात्र संकलन गरेकोे छ। सरकारले हरेक वर्ष लक्ष्य बढाउँदै लैजाने गरेकामा आर्थिक मन्दीले आयातनिर्यात घटेकाले लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले बताए।
‘कोरोनापछि निर्यात शून्य छ भने आयात पनि कम भएको छ। सोही कारण लक्ष्यअनुसार राजस्व संकलन हुन सकिरहेको छैन’, उनले भने, ‘विभागले बर्सेनि राजस्व संकलनको लक्ष्य बढाउने गरेको छ, यो साना भन्सार भएकाले हामीलाई लक्ष्यअनुसार राजस्व संकलन गर्न कठिनाइ हुन्छ।’
प्रमुख काफ्लेका अनुसार यहाँ ठूलो परिणाममा कारोबार नहुने तथा ठूला मालवाहक सवारीसाधन नआउने भएकाले न्यून राजस्व संकलन हुने गरेको छ। शारदा ब्यारेज सीमित समयका लागि मात्र खुला हुने भएकाले पनि राजस्व संकलनमा असर परेको उनको भनाइ छ।
कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ५२ करोड राजस्व संकलनको लक्ष्य राखेकामा ४६ करोड, आव २०७९÷८० मा ५८ करोड लक्ष्य राखेकामा ४२ करोड, आव २०८०÷८१ मा ५९ करोड लक्ष्य राखेकामा ५४ करोड मात्र राजस्व संकलन भएको थियो। चालू आवमा वैशाख मसान्तसम्मको राजस्व हेर्दा लक्ष्यअनुसार संकलन नहुने भन्सार कार्यालयले जनाएको छ।
त्यसैगरी आन्तरिक राजस्व कार्यालय र करसेवा कार्यालयको तथ्यांकअनुसार वैशाख मसान्तसम्म सुदूरपश्चिममा पाँच अर्ब बढी राजस्व संकलनको लक्ष्य राखिएको थियो।
डोटीमा दुई दशमलव ४५ प्रतिशत र कञ्चनपुरमा शून्य दशमलव ९३ प्रतिशत राजस्व संकलनमा कमी आएको छ। लम्कीमा १६ दशमलव ६ प्रतिशत, कैलालीमा चार दशमलव १३ प्रतिशत र अछाममा दुई दशमलव ९४ प्रतिशत राजस्व संकलनमा कमी भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी विजय भुसालका अनुसार कञ्चनपुरमा निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउनु, कारोबार घट्नु तथा अन्तःशुल्कमा पनि कमी आएकाले राजस्व घटेको हो। अघिल्लो आवको वैशाख मसान्तसम्म एक अर्ब ८२ करोड राजस्व संकलन भएको थियो।
चालू आवको वैशाख मसान्तसम्म एक अर्ब ८१ करोड मात्र राजस्व संकलन भएको छ। उनले भने, ‘हामीले तथ्यांक हेर्दा पाँच करोडभन्दा बढी कारोबार गर्ने करदाताको चैत मसान्तसम्मको कारोबार अघिल्लो आवको भन्दा तीन अर्ब ६० करोड हाराहारीमा घटेको देखिन्छ।’
सुदूरपश्चिम सरकारले आवको सुरुआतमा बजेट शून्यताको अवस्थाबाट गुज्रिनुपरेका कारण पनि राजस्व संकलनमा असर परेको होे। बजेट पारित नहुँदै प्रदेश सरकार अल्पमतमा परेपछि प्रदेशले एक महिना बजेट शून्यता खेप्नुपरेको थियो।
यसले गर्दा सबैखाले आर्थिक गतिविधि ठप्प भएका थिए। यसले पनि राजस्व संकलनमा ठअसर पारेको सरकारी अधिकारीहरू बताउँछन्। सुदूरपश्चिममा व्यापारिक नाका नभएकाले यहाँ राजस्व संकलन हुन नसकेको स्थानीय व्यवसायी बताउँछन्।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लले सरकारले हरेक वर्ष राजस्व संकलन गर्ने लक्ष्यमात्र बढाउने तर कारोबार बट्दै जाँदा राजस्व संकलनमा कमी आएको बताए।
‘सुदूरपश्चिममा व्यापारिक नाका छैनन्। पश्चिमीनाका गड्डाचौकी सानो छ, शारदा ब्यारेज सीमित समयका लागि मात्र खुल्छ, ठूलो मात्रामा व्यवसायीका सामान आउँदैनन्’, मल्लले भने, ‘अहिले व्यापार व्यवसायमा कमी आउनु, राजस्व संकलनको लक्ष्य बढ्नुलगायत कारणले लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो।’ सरकारले नाकामा हुने चोरी, तस्करी नियन्त्रण गर्न सके राजस्व संकलनमा वृद्धि हुने उनले बताए।-रासस