काठमाडौं। यतिखेर अर्थ मन्त्रालय सम्झँदा जताततै भीड, योजना माग्नेको लर्को, अर्थ मन्त्रालयमा रहेका सुरक्षा गार्डलाई भीड मिलाउन हम्मेहम्मे, अर्थमन्त्रीको कार्यकक्षदेखि सल्लाहकार, स्वकीय सचिव हुँदै अर्थका हरेक महाशाखामा नेता, कार्यकर्ता र व्यवसायीले खचाखच हुन्छ होला भन्ने लाग्छ। त्यो स्वाभाविक किन हो भने यसअघिका हरेक दृश्य त्यस्तै हुन्थे।
यसअघि मन्त्रालयमा पाइला टेक्ने ठाउँ हुँदैन थियो। अर्थले ढोका लगाएर बजेट बनाउँछौं भने पनि सांसदलाई कसैले रोक्ने सक्दैनथे। कार्यकर्ता ‘डोर क्र्यास’ गरेर अर्थमन्त्रीसमक्ष पुगिहाल्थे। जतिसुकै कन्ट्रोल गर्छु भने पनि सम्भव थिएन। तर, आगामी आर्थिक वर्षको बजेट निर्माण चलिरहँदा अर्थ मन्त्रालय कुल माइन्डमा बजेट लेखिरहेको छ। न कुनै भीड छ, न त कुनै दबाब। सुरक्षाकर्मीसमेत प्रफुल्ल मुद्रामा छन्। कोही नेता÷कार्यकर्ता मन्त्रालयमा देखिँदैनन्।
सांसदको उपस्थिति छँदै छैन। फाट्टफुट्ट अर्थ मातहतका कर्मचारी पुग्छन्। बाँकी बाहिरिया कोही देखिँदैनन्। बजेट निर्माणका बेला असान्त हुने अर्थ मन्त्रालय यतिविघ्न शान्त कसरी बन्यो? के बजेटप्रति जनताको चासो र चिन्ता घटेकै हो वा मन्त्रालयले प्रवेश निषेध नै गरेको हो भन्ने चासो र चिन्ता बढेको छ।
यसले अर्थ मन्त्रालय बजेट बनाइरहेको छ त भन्ने भान हुन्छ। पूर्वअर्थमन्त्री रामशरण महतका पालामा जसरी शान्त रुपमा बजेट बनिरहेको छ, त्यस्तै झझल्को आउँछ। अर्थ मन्त्रालय किन शान्त बनेको कारणबारे अर्थका एक अधिकारीसँग क्यापिटल नेपालले गरेको प्रश्नमा उनले भने, ‘मन्त्रीले चाहे भने जे पनि हुन्छ। यसअघिका मन्त्रीले नचाहेकाले असम्भव भएको थियो।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका पालामा मुसा काण्डले उग्र रुप लिएपछि हालका अर्थमन्त्री विष्णु पौडेलले पूर्ण कडाइ गरेका हुन्। एकजना पनि अर्थ वरिपरि देख्नु हुन्न।’‘बाहिर कोही कसैले भेट्यो भने थाहा हुँदैन।
अर्थ शान्त छ। त्यसको पछाडिको अर्काे कारण भनेको ३ करोडमुनिका एउटा पनि आयोजना नहाल्ले निर्णय हुनु हो। खासगरी सांसदहरु स–साना र टुक्रे आयोजना बोकेर आउँदा अर्थमा भीड देखिन्थ्यो। आगामी आर्थिक वर्षको बजेटमा ३ करोडमुनिका आयोजना पर्ने सम्भावनै छैन। ती आयोजना नराख्नेबित्तिकै अर्थ शान्त भइहाल्यो,’ ती कर्मचारीले भने।
स्रोतका अनुसार पछिल्ला केही दिनयता केही व्यवसायीले अर्थसचिव घनश्याम उपाध्यायलाई भेट्न गरेको प्रयत्नसमेत बिफल भएको छ। एक व्यवसायीले अर्थसचिवलाई भेट्न निकै प्रयत्न गरे पनि नसकिएको बताए। स्वार्थ राखेर भेट्ने समूहदेखि नेता, कार्यकर्ता र सांसदका समेत माग सम्बोधन नहुने भएपछि अर्थ शान्त बनेको हो।
चालू आर्थिक वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेटलाई अनुशासनभित्र राख्न सकेका थिएनन्। तत्कालीन भौतिकमन्त्री रघुवीर महासेठ कार्यकर्तासहित अन्तिम समय अर्थभित्रै प्रवेश गरेर बजेटको धज्जी उडाउँदासमेत अर्थमन्त्री पुनः टुलुटुलु हेरेर बसेपछि उनको निकै आलोचना भएको थियो।
यी छताछुल्ल उदाहरणबाट पाठ सिकेर अर्थमन्त्री पौडेलले सत्ता साझेदार दलका कार्यकर्तादेखि अन्य पार्टीका नेता तथा कार्यकर्तालाई समेत प्रवेश रोकेपछि बजेट लेखन समिति निस्फिक्री काममा जुटिरहेको छ।