काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण सबैको साझा कर्तव्य भएको बताएका छन्।
काठमाडौंमा आज आयोजना भएको ‘अन्तरराष्ट्रिय एभरेस्ट समिटर्स समिट–२०२५’ को उद्घाटन गर्दै उनले हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याए।
मन्त्री पाण्डेले भने,“हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ।”
उनले शेर्पा समुदाय, पथप्रदर्शक, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पुर्याउने सबैप्रति विशेष सम्मानसमेत व्यक्त गरे।
“उहाँहरूको समर्पणले पर्वतीय यात्रालाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ”, मन्त्री पाण्डेले भने।
सरकार पर्वतारोहणको प्रर्वद्धनका लागि पूर्वाधार,तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताए।