काठमाडौं। नेपालमा पहिलो पटक विश्वभरीका हिमाल आरोहीहरुको ‘एभरेस्ट समिर्टस’ समिट सम्पन्न भएको छ। एभरेष्ट अलायन्सको आयोजनामा भएको समिटमा हिमाल पंग्लिदै गएको र जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा हिमालमा परेको विषयमा केन्द्रित रहेर छलफल भएको छ।
अलायन्सका अध्यक्ष सुदर्शन नेपालले हिमाल आरोहण क्रममा हुँदै आएको प्रदुषणबाट सिर्जना भएको जलवायु परिवर्तन नियन्त्रण र हिमाल आरोहण गर्ने आरोहीलाई सम्मान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए।
‘हिमाल जोगाउनु सबैको कर्तव्य हो,’ अध्यक्ष नेपालले भने,‘जलवायु परिवर्तनले पुराएको असर बारे विश्व समूदायलाई पुर्याउन सफल समेत भएको छ।’
पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीय लगायत पर्यटन व्यवसायी, शेर्पा समुदाय र ट्रेकरलाई समेटेर दिगो पर्यटन प्रवर्धन, हिमाली वातावरणीय संरक्षणबारे अन्तर्राष्ट्रिय सहकार्यकाबारेमा छलफल भएको थियो।
सोल्टी होटलमा आयोजित कार्यक्रममा हिमाल आरोही कान्छा शेर्पालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको छ। उनले सन् १९५३ मा उनले तेन्जिङ नोर्गे शेर्पासङ्ग सगरमाथा आरोहण गरेका थिए।
अलायन्सले सन् २०२३ मा १६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेकी चिनियाँ आरोहि सुइ चो वङलाई मा उमेरमा आरोहण गर्ने आरोहीको रुपमा सम्मान गरेको छ।
सम्मेलनमा हिमाल आरोहणका चुनौती, महिलाको सहभागिता, जलवायु संकट, सुरक्षित प्रविधि लगायतका विषयमा छलफल भएको छ।
एभरेष्ट अलायन्सका अनुसार सम्मेलनमा १६ मुलुकका करिब २०० हिमाल आरोहीको सहभागिता रहेको थियो। कार्यक्रममा सेवेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले पछिल्लो समय विश्वका १४ उच्च शिखर आरोहण वृद्धि हुँदै जानु हिमाल आरोहण पर्यटन विशेष रहँदै आएको बताए।
विगतमा अमेरिकी, युरोपेली आरोहीको सहभागिता बढ्दै गएकोमा चिनियाँ र भारतियसँग एसियाली आरोहीको संख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको उनले जानकारी दिए।
सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, अष्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिंगापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका देशबाट हिमाल आरोही र प्रतिनिधिको सहभागिता रहेको छ।