काठमाडौं । बजारमा जब जब अभाव सिर्जना हुन्छ, तब तब केही व्यापारीलाई कमाउने सबैभन्दा ठूलो मौका मिल्छ । देश अप्ठयारोमा परेका बेला व्यापारीले मौका छोप्ने प्रवृत्ति पुरानै हो ।
अन्य समयमा कानुन अनुसार नै व्यापार÷व्यवसाय गरिरहेका व्यापारीहरु देश अप्ठयारोमा पर्ने वित्तिकै कमाउ धन्दामा लाग्ने गरेका छन् ।
भूकम्पका बेला होस् वा नाकाबन्दीका बेला । व्यापारीले त्यस्तै समयमा दैनिक उपभोग्य सामग्रीमा अत्यधिक कालोबजारी गर्ने गरेका छन् ।
चीनमा महामारीकै रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा सामान आउन ठप्प भएसँगै नेपालका केही व्यापारीलाई कमाउने अवसर मिलेको छ ।
खासगरी, दैनिक उपभोग्य सामग्री (दाल, चामल, नुन, तेल, तरकारी, फलपूmल, औषधि)मा व्यापक कालोबजारी बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्च नेपालका अध्यक्ष माधव तिमिल्सेनाले बताए ।
आयात ठप्प भएको बताउने मनलाग्दी रुपमा मूल्य लिने गरेका छन् । देश सङ्कटमा परेका बेला विलासिताका वस्तुको मूल्य घट्नु वा बढ्नुले ठूलो अर्थ राख्दैन्, जति दैनिक उपभोग्य वस्तुको मूल्य घट्नु वा बढ्नुले राख्छ ।
कोरोनाको सन्त्रास पछि नेपालमा विलासिताका वस्तुको मूल्य र माग दुवै घटेको छ । विलासी वस्तु खरिद गर्नुको साट्टो त्यो पैसा बचत गर्न तर्फ उपभोक्ता लाग्छन् । तर, दैनिक उपभोग्य वस्तुको जति नै मूल्य बढे पनि नखाई सुख्खै हुँदैन् । त्यही सामग्रीमा अहिले व्यापाक कारोबजारी भइरहेको छ ।
केही दिन अघि मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा एक बैठक भएको थियो । त्यो बैठकमा निजी क्षेत्रका प्रतिनिधिदेखि विभिन्न मन्त्रायका सचिवसम्म उपस्थित थिए ।
सोही बैठकमा गृहसचिव महेश्वर न्यौपानेले व्यवसायीसामू कालोबजारी गर्नेलाई सिधै जेल हाल्ने उद्घोष समेत गरेका थिए । तर, उनको उद्घोष त्यो बैठक सकेर बाहिर निस्किएसँगै सिधिएको छ ।
अहिले बजारमा तीन सय प्रतिसतसम्म मूल्य बढाएर सामान बेचिरहेका छन् । ५ देखि १० रुपैयाँ पाइने मास्क अहिले ३० देखि ६० रुपैयाँसम्म पुगेको छ । लत्ताकपडाको मूल्य ४० देखि ५० प्रतिशत बढेको छ ।
दैनिक उपभोग्य वस्तुको कुनै नगरौ, १५ दिन अघिको मूल्य र अहिलेको मूल्यमा आकाश जमिनको फरक भइसकेको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन् ।
बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा भएको कालोबजारी देखेकै छैन् । विभागलाई लागेको छ– बजारमा केही कालोबजारी भएकै छैन ।
दैनिक उपभोग्य वस्तुको मूल्यमा कुनै फरक आएकै छैन । तर, वास्तविकता भने अर्कै भएको उपभोक्ताकर्मी तिमिल्सेना बताउँछन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आपूर्ति हेर्ने सहसचिव ध्रुब घिमिरेले विभागीय मन्त्रीसहितको टोलीले बजार अनुगमन गरिरहेको र त्यस्ता व्यापारीको खोजी भइरहेको जानकारी दिए । ‘केही व्यापारीलाई नियन्त्रणमा पनि लिएको छौं,’ उनले भने, ‘विभागको टोलीले पनि सुक्ष्म रुपमा अनुगमन गरिरहेको छ ।’