काठमाडौं। सोल्टी होटलले पोखरामा रहेको होटल पेनिन्सुला व्यवस्थापन गर्ने भएको छ। नेपालको अग्रणी लक्जरी आतिथ्य ब्रान्ड सोल्टी होटल्स एन्ड रिसोर्टसले वेस्टेन्ड ब्रान्डअन्तर्गत ‘सोल्टी वेस्टेन्ड लेकसाइड पोखरा’मा व्यवस्थापन सम्झौता गरेको हो।

होटल पेनिन्सुला व्यवस्थापन तथा सञ्चालनमा ल्याउने घोषणा गरेको हो। योसँगै सोल्टी होटेल्स एण्ड रिसोर्टसको पर्यटकीय शहर पोखरामा उपस्थितिले गण्डकी प्रदेशको पोखरामा विस्तारित होटेलको रुपमा नवीनतम पहिचान बनाएको छ।
पर्यटकीय सहर पोखराको रमणीय, आकर्षक र पर्यटकीय क्षेत्रकाे केन्द्रबिन्दु पोखरा लेकसाइडमा रणनीतिक रुपमा अवस्थित साेल्टी वेस्टेन्ड लेकसाइड, पोखरा होटल शान्त फेवातालबाट केही पाइला मात्रको दूरीमा अवस्थित छ, जहाँ पोखरा सहरका प्रमुख क्याफे, रमणीय स्थल तथा साहसिकसहितका पर्यटकीय गतिविधिले जीवन्त अनुभव दिन्छन्।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आधुनिक पर्यटकीय सुख सुविधा रमाउने स्वदेशी तथा विदेशी अतिथि पाहुना तथा पर्यटकको लागि सोल्टी वेस्टेन्ड लेकसाइड पोखरा होटल उपयुक्त तथा आदर्श विश्रामस्थल तथा उत्कृष्ट गन्तव्यको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
सन् २०२५ सेप्टेम्बर देखि बुकिङका लागि खुला गरिने तयारीमा रहेको सोल्टी वेस्टेण्ड लेकसाइड, पोखराले समकालीन आतिथ्य सत्कारमा नयाँ दृष्टिकोण तथा पर्यटकीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। होटेलमा ६ वटा जुनियर सुइट र एउटा अत्यन्तै आरामदायी प्रेसिडेन्सियल सुइटसहित कुल ७७ वटा प्रिमियम अतिथि कोठा रहेका छन्।
पाहुनाकोठाको आधुनिक शैली र आधुनिकतम पर्यटकीय सुविधाको उत्कृष्ट संयोजनलाई ध्यानमा राख्दै आधुनिक तथा उत्तम सन्तुलित ढंगले डिजाइन गरिएका छन्। पाहुनाले होटलमा विश्राम गर्दा विभिन्न स्वाद र अनुभवले भरिपूर्ण सेवा उपभोग गर्न सक्नेछन, जसमा अन्नपूर्ण शृंखलाको दृश्यावलोकन गर्न सकिने आधुनिक रूफटप बारका साथै विभिन्न स्वाद र प्राथमिकतालाई ध्यानमा राखी तयार पारिएका भोजन तथा व्यन्जनका परिकार उपलब्ध हुनेछन्।
होटलमा व्यावसायिक कार्यक्रम तथा सभा समारोहका लागि २५० जना अट्ने क्षमताको सभाहलसहित व्यावसायिक बैठक, प्रीतिभोज तथा सामाजिक कार्यक्रम आयोजना गर्न बैठक कक्ष उपलब्ध रहनेछन्। स्वस्थ र आनन्ददायी विश्राम खोज्ने पर्यटकका लागि होटलमा स्वीमिङ पूल, पूर्ण रूपमा सुसज्जित हेल्थ क्लब र शान्त स्पा रहनेछ।
यसका अतिरिक्त होटलभित्र स्मृति चिन्ह पसलले पोखरा भ्रमण अनुभवका एउटा चिनो लिएर जान चाहने अतिथिका लागि चयनित सोभनियर सामग्री उपलब्ध गराउनेसमेत व्यवस्था हुनेछ। थप सुविधास्वरूप पर्याप्त पार्किङ व्यवस्थापन पनि उपलब्ध हुनेछ।
पारिवारिक छुट्टी मनाउन, रोमाञ्चकारी समय बिताउन, व्यावसायिक यात्राका लागि दीर्घकालीन बसाइँ होस् अथवा अल्पकालिन बसाइँ, सोल्टी वेस्टेण्ड लेकसाइड, पोखरा सबै उमेर र समूहका पर्यटकको आवश्यकतालाई सम्बोधन गर्ने सक्षम शैलीयुक्त र समावेशी गन्तव्यस्थलको रूपमा विकास गरिएको छ।

होटल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटल्स एन्ड रिसोर्टसका तर्फबाट सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईं र होटल पेनिन्सुलाका संस्थापक तथा कार्यकारी अध्यक्ष खिमबहादुर ढकालबीच हस्ताक्षर भएकाे हो। सहकार्यमार्फत सोल्टी होटेल्स एण्ड रिसोर्टले आफ्नो सेवा सञ्जाललाई अझ विस्तार गर्दै आतिथ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप सशक्त बनाएको उपाध्यक्ष चापागाईंको भनाइ छ।
सोल्टी वेस्टेन्ड लेकसाइड, पोखराले समकालीन वास्तुकला, आत्मीय सेवा तथा स्थानीय सांस्कृतिक अनुभवको संयोजनमार्फत सोल्टी ब्राण्डको विशिष्टता र गुणस्तरका पहिचायक चिनारीहरूलाई जीवन्त बनाउने उनको भनाइ छ।
सोल्टी होटल्स एन्ड रिसाेर्टले गण्डकी प्रदेशमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै बढ्दो प्रतिस्पर्धात्मक बजारमा अतिथि तथा पर्यटक यात्रुका लागि विशिष्ट रोजाइको विकल्प बन्ने विश्वास लिइएकाे उनले बताए।