काठमाडौं। सरकारले सार्वजनिक संस्थानबाट पाउने लाभांश ३६ प्रतिशतले घटेको छ। एक वर्षको अवधिमा सरकारको लगानी प्रतिफल ३५.७८ प्रतिशतले घटेर ८ अर्ब ८३ करोड रुपैयाँमा खुम्चिएको हो।
सार्वजनिक संस्थानबाट सरकारलाई २०७९/८० मा १३ अर्ब ७५ करोड रुपैयाँ लाभांश प्राप्त भएकोमा आव २०८०/८१ मा ८ अर्ब ८३ करोड प्राप्त भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै सरकारको सार्वजनिक संस्थानहरूको लगानी प्रतिफल सन्तोषजनक नभएको स्पष्ट पारे।
‘सार्वजनिक संस्थानले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अर्थमन्त्रीको भनाइ छ। यद्यपि, यस्ता प्रतिष्ठानको संरचना, सञ्चालन नीति, कार्य योजना, वित्तीय अनुशासन, पारदर्शीता, दक्षता र सेवा प्रवाहमा अझ धेरै सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने। हाल ४५ वटा सार्वजनिक संस्थान संचालनमा छन्।
सार्वजनिक संस्थानमा सम्पत्ति २.२० प्रतिशतले वृद्धि भएको २९ खर्ब १० अर्ब १७ करोड पुगेको छ। सार्वजनिक संस्थानमा सरकारको लगानी ५.८६ प्रतिशतले वृद्धि भएर ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ।
जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब र ऋण लगानी ३ खर्ब ३९ अर्ब रहेको छ। संस्थानको सञ्चालक आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल ग्राहस्थ उत्पादनमा संचालन आउको अनुपात ११.५७ प्रतिशत रहेको छ।
सञ्चालनमा रहेको संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन्। आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा १२.८८ प्रतिशतले कम हो।
नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। नाफामा रहेको संस्थानको खुद नाफा गत आवको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेको संस्थानको खुद नोक्सानी ८.६५ प्रतिशतले बढेको छ। कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात ०८०/८१ मा २.४ प्रतिशत रहेको छ।