काठमाडौं। पूर्वअर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रले बजेटप्रति उत्साहित हुनु सकारात्मक रहेको बताएका छन्।
आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका शर्माले बजेटका केही नीतिगत विषय राम्रा भए पनि सारमा आलोचना आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले भने, ‘संरचना, अर्थतन्त्र विस्तारलगायत विषय विगतको निरन्तरता भए पनि सकारात्मक कुरालाई नकार्न सकिँदैन। सरकारले आर्थिक वृद्धिदर र जनताको जीवनमा पर्ने प्रभावका विषयमा पनि ध्यान दिनुपर्छ।’
लक्ष्य हासिल गर्न सफल हुनेतर्फ ध्यान दिन सरकारलाई उनले सुझाए। निर्यातभन्दा आयात १० गुणा बढी रहेको अवस्थामा देशलाई बदल्न र सन्तुलनमा लैजान सरकारी ध्यान जानुपर्ने आवश्यकता उनले औंल्याए।
नेपालमा फलाम उद्योग बढेर ३७ वटा पुगेकाले ती आयोजनाका लागि कच्चा पदार्थ कति आयो र कति कम्पनी खुले भन्ने विषयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। यद्यपि बजेटमा नयाँ कुरा भएको तर जति हुनुपर्ने हो त्यति हुन नसकेको उनको भनाइ छ।
‘निजी क्षेत्रलाई उत्पादनमा लाग्नका लागि यो बजेटले के गरेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। स्रोतसाधन र कृषकसँग जोडिने कुरा यो बजेटमा कतै पनि देखिएन। नेपालको अहिलेको आर्थिक प्रणाली जुन रूपमा रहेको छ, यसमा पुनर्संरचना आवश्यक छ। अहिले ठूला दुई दल मिलेर बनेको शक्तिशाली अर्थमन्त्रीले गर्नुपर्ने थियो। म त्यो खाले अर्थमन्त्री थिइनँ,’उनले भने।
शर्माले चालू आर्थिक वर्षमा हालसम्म १२ अर्ब १७ अर्ब रुपैयाँ खर्च भएको र अब आउने दिनमा पौने २ खर्ब खर्च हुने स्थिति रहेको धारणा व्यक्त गरे।
‘चालू आर्थिक वर्षमा १५ खर्ब रुपैयाँ हाराहारी खर्च हुने अवस्था छ। अहिलेको आधारमा आगामी आर्थिक वर्षको बजेट खर्च हुने गुणात्मक आधार केही पनि छैन,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा १५ खर्बबाट १६ खर्ब पुग्ला तर गुणात्मक खर्च नहुँदासम्म यसले प्रतिफल ल्याउन सक्दैन।’
साधारण खर्च धान्नै मुस्किल रहेको अवस्थामा ९१ अर्ब रुपैयाँ मात्रै विकास खर्च भएको अवस्था रहेको उनले बताए। ‘३ प्रतिशत लगानी गर्दा १ प्रतिशत वृद्धिदर हुने हो। यसरी हेर्दा १८ प्रतिशत लगानी गरेको ६ प्रतिशत वृद्धि हासिल हुन्छ। यसरी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न सकिन्छ? १६ खर्ब रुपैयाँ खर्च नभएको अवस्थामा ४ खर्ब रुपैयाँ अधिक बजेट छ। यसले हुने आर्थिक वृद्धिदर ४.४ प्रतिशत नै हो,’ उनले भने।