काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन्।
आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटप्रति सबै क्षेत्र सकारात्मक रहेकाले कार्यान्वयनमा बाधा नपुग्ने बताएका हुन्।
सरकारले ल्याएको बजेटबारे सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएकाले कार्यान्वयन पनि हुने विश्वास उनको छ। ७.५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्तिको विगत भएकाले अहिलेको बजेटले ६ प्रतिशतको वृद्धिदर हासिल सम्भव रहेको अर्थमन्त्री पौडेलको जिकिर छ।
अर्थमन्त्री पौडेलले भने, ‘बजेट निर्माणका सिद्धान्तलाई अनुशरण गरेर निर्माण गरिएको छ। सीमा पालना गरेर बजेट आएको छ। स्रोत व्यवस्थापन गरेरै बजेट निर्माण गरिएको छ। राजस्वको अनुमान आगामी आर्थिक वर्षमा लक्ष्य हासिल हुने विश्वास छ। आर्थिक वर्ष सकिँदै गर्दा प्रश्न गर्न सक्ने अवस्था आउन दिइने छैन।’

अर्थमन्त्री पौडेलले लक्ष्यअनुसारको राजस्व संकलनका लागि थोरै मिहिनेत गर्न आवश्यक रहेको बताए। उनले भने, ‘ काम नगरेको अवस्थामा हासिल गर्न लक्ष्य सकिँदैन्न। काम गरिएको अवस्थामा लक्ष्य हासिल गर्न सकिन्छ।’
उनले सार्वजनिक ऋण कति पुग्यो भनेर हिसाब गरेर बस्नुभन्दा पनि साँवाब्याज तिर्न पुग्ने ऋण लिने गरी बजेट आएको दाबी गरे। स्रोतको विषयमा चिन्ता नगर्न सबैलाई अर्थमन्त्रीले आग्रह गरे।
आर्थिक विज्ञबाट बजेटप्रति सकारात्मक सुझाव आएकाले आफू उत्साहित भएको अर्थमन्त्रीले जानकारी दिए। खर्च गर्नुपर्ने क्षेत्र पनि देखाउने र खर्च बढाएको भन्ने कुरा आफैंमा नमिल्दो रहेको उनको भनाइ छ। स्रोत परिचालन गर्न सकिने किसिमको बजेट आएको उनले बताए।
स–साना योजनामा बजेट लोड गरेर समस्या भइरहेको अवस्थामा नयाँ बजेटले त्यसलाई समाधान गरेको उनको भनाइ छ। खुद्रा योजनामा बजेट होशियार रहेको उनले बताए। गत आर्थिक वर्षको र चालू आवको आर्थिक वृद्धिदर मुद्रास्फीतिलाई आधार बनाइएको उनले जानकारी दिए।
‘सरकारले गर्नुपर्ने काम सबै गर्छ भन्ने बजेटले निजी क्षेत्रलाई सन्देश दिएको छ। निजी क्षेत्रका सबै विधाका लागि काम गरिरहेको अवस्था छ’, उनले भने।
अर्थमन्त्री पौडेलले बजेटमार्फत युवा उद्यमलाई सशक्त रुपमा पहल गरेको दाबी गरे। उनले सरकार निजी क्षेत्रलाई अघि बढाउन सधैं तयार रहेको प्रतिबद्धता जनाए। निर्माण क्षेत्रका समस्याका विषयमा पनि सरकारले समाधानका लागि काम गरेको छ। ऐन कानुनमा गर्नु पर्ने संशोधनका लागि पनि सरकार तयार रहेको उनको भनाइ छ।
अर्थमन्त्रीले आयोजना निर्धारित समयमा बन्नुपर्ने मुख्य उद्देश्य रहेकाले त्यसका लागि सरकारले गर्नुपर्ने सबै सहजीकरणमा तयार रहेको बताए।
डिजिटल बैंकिङमा जान आववश्यक पर्ने पूर्वाधार निर्माण गरिने उनले बताए। त्यसमा राष्ट्र बैंक र सरकारले समन्वय गरेर काम गर्ने उनले उल्लेख गरे।
आयोजना ट्रान्समिसन लाइनलाई सँगसँगै लैजानुपर्छ भन्ने उद्देश्य सरकारको रहेको उनको धारणा छ। ‘वातावरणमा प्रभाव नपर्ने गरी खनिज पदार्थ प्रयोग गर्न आवश्यक छ। यो बजेटले त्यसमा ध्यान दिएको छ। बजेटको कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ’, अर्थमन्त्रीले भने।