काठमाडाैं । नेपाली बजारमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । सर्वसाधारणले मंगलबार १ डलर पाउन १ सय १८ रुपैयाँ ८४ पैसा तिर्नुपरिरहेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरले देखाउँछ ।
डलरसँग भारतीय मुद्रा थप कमजोर बनिरहेकाले पनि नेपाली मुद्रा अवमूल्यन भइरहेको छ । नेपाली मुद्रा भारतीय मुद्रासँग ‘पेग्ड’ गरिएको छ । भारु बलियो भए नेपाली मुद्रा पनि डलरसँग बलियो हुन्छ भने कमजोर भए कमजोर ।
भारुसंग स्थिर विनिमयदर कायम भएकाले भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । डलरसंग भारु कमजोर भएपछि यसको असर नेपालमा परेको हो ।
अन्तर्राष्ट्रिय बजारमा डलर नै सुरक्षित लगानीको क्षेत्र देखिएकाले भाउ उकालो लागेको नेपाल राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्ट बताउँछन । पछिल्लो समयमा विश्व बजारमा कच्चा तेलको भाउ निरन्तर घट्दै गएका, सुनले पनि लगानीकर्तालाई तान्न नसकेको र वस्तु विनिमय र सेयर बजार पनि असुरक्षित देखिएका कारण डलर मजवुत हुन गएको उनको भनाई छ ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्वले ब्याजदर ०.५ विन्दुले घटाउँदा पनि लगानीकर्ता डलरतर्फ आर्कर्षित भएको उनको भनाई छ ।
तर, पनि लगानीकर्ता डलरमै विश्वस्त देखिएका छन’ उनले भने ‘अमेरिकी अर्थतन्त्र झनै मजवुत हुन गएको देखिएको छ ।’ ब्याजदर घटेर प्रतिफल कम आउँने भए पनि अहिले लगानीकर्ता डलरतर्फ आर्कर्षित भएको उनको तर्क छ ।
केही हदसम्म कोरोना भाइरसका प्रभाव विश्व अर्थतन्त्र देखिएको छ । डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आप्रवाहमा वृद्धि भए पनि आयात महंगो हुने भएकाले बजार भाउ बढ्न सक्ने भट्टको भनाई छ । यद्यपी निकासीकर्तालाई यो बेला फाइदा हुन सक्छ । वस्तु निकासीकर्ताले डलर बढ्दा आम्दानी बढ्ने छ ।