काठमाडौं। आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त आयोजनामा सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सुरू भएको छ। देशभर डिजिटल प्रविधि प्रयोग र सचेतना फैलाउने उद्देश्यले देशभरमा डिजिटल साक्षरता कार्यक्रम ‘आइसिटी ज्ञान’ सुरू गरिएको हो।
कार्यक्रममा विद्यालयका, महिला समूह, कृषि व्यवसायी, युवा उद्यमी र स्थानीय सरकारका प्रतिनिधिलाई लक्षित गरी डिजिटल सीप र प्रविधि उपयोगका विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ।
यसअन्तर्गत कोशी र मधेस प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ। यी प्रदेशको डिजिटल साक्षरता कार्यक्रममा पाँच सय बढीको सहभागिता थियो।
कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा डिजिटल आधारभूत तालिम र साइबर सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो। मधेसको सप्तरी र सर्लाही जिल्लामा मोबाइल बैंकिङ् र अनलाइन पेमेन्ट प्रणालीको प्रयोग प्रवर्द्धनमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो।
एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले आइसिटी ज्ञान पहलले डिजिटल रूपान्तरणको युगमा सचेतना जगाउने र डिजिटल खाडँललाई अन्त्य गर्न पुलको काम गर्ने बताइन्।
‘आइसिटी ज्ञान पहल डिजिटल रूपान्तरणको यस युगमा सबैलाई सँगै अगाडि बढाउने र डिजिटल खाडँललाई पूरा गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो,’ उनले भनिन, ‘यस ग्रासरूट स्तरको कार्यक्रममार्फत, हामी विभिन्न आवश्यक डिजिटल ज्ञान र सीप प्रदान गर्दैछौं, जसले गर्दा सहभागीहरु नेपालको डिजिटल भविष्यमा सक्रिय रूपमा सहभागी हुन सक्छन्।’

यस्तै कार्यक्रमको बारेमा आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले डिजिटल विभेद अन्त्य गर्न र सूचना प्रविधिमा सर्वसुलभ पहुँच सुनिश्चित गर्न यो कार्यक्रम लाभदायीक हुने बताए। समुदाय स्तरबाट सीप विकासले सामाजिक आर्थिक क्षेत्रमा दिगो परिवर्तन ल्याउने विश्वास गरिएको उनको भनाइ छ।
एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्व कार्यक्रमको रूपमा अगाडि बढेको डिजिटल साक्षरता कार्यक्रम कोशी र मधेसपछि क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन हुनेछ।
कार्यक्रमअन्तर्गत बागमती प्रदेशको दोलखा र सिन्धुपाल्चोकमा सामाजिक सञ्जाल व्यवस्थापन र डेटा गोपनीयतासम्बन्धी तालिम दिइने छ। गण्डकी प्रदेशमा स्याङ्जा र मनाङ जिल्लामा क्लाउड सेवा र डिजिटल उद्यमिताका उत्कृष्ट अभ्यास अघि बढाइने छ।

त्यसैगरी लुम्बिनी प्रदेशको बाँके र प्युठानमा कृषि डिजिटलाइजेशन तथा कृषक मोबाइल एप्सको प्रयोग विस्तारमा, कर्णाली प्रदेशको दैलेख र सल्यानमा विद्युतीय सुशासन प्रणाली र डिजिटल वित्तीय समावेशीतामा तथा सुदूरपश्चिम प्रदेशका अछाम र कैलाली जिल्लामा सरकारी सेवा ई–गभर्नेन्स र अनलाइन प्लेटफर्मका विषयमा साक्षरता दिइने छ।
यी पहलकदमीहरूले आगामी दिनमा देशभर डिजिटल समावेशिता र प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास रहेको छ।