काठमाडौं। हिमालयन बैंकका दुई डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) हरूको कार्यकाल समाप्त भइसके पनि उनीहरूलाई नियमविपरीत कोर बैंकिङ सिस्टममा पहुँच दिएर काममा राखिएको पाइएको छ।
बैंकका डिसिइओहरु उज्वलराज भण्डारी र अनुप मास्केको सेवा अवधि गत फेब्रुअरीमै सकिएको भए तापनि बैंकले उनीहरूलाई अझै पनि जिम्मेवारीमा राखिरहेको हो।
बैंकका डीसीईओद्वय भण्डारी र मास्केको कार्यकाल ३० वर्षे सेवा अवधि र उमेर हदका कारण कार्यकाल सकिएको दुई महिना बितिसक्दा पनि बैंकको आधिकारिक वेबसाइटबाट उनीहरूको नाम हटाइएको छैन भने उनीहरूले अझै पनि बैंकको अति संवेदनशील ‘कोर बैंकिङ सिस्टम’ मा पहुँच पाइरहेका छन्।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार, करारमा रहेका वा कार्यकाल समाप्त भएका कर्मचारीलाई बैंकको कोर बैंकिङ सिस्टममा पहुँच दिन पाइँदैन। यो व्यवस्था सुरक्षा र गोपनीयताका दृष्टिकोणले अनिवार्य मानिन्छ।
स्रोतका अनुसार, राष्ट्र बैंकको सुपरिवेक्षण विभागले हिमालयन बैंकलाई यस विषयमा सचेत गराइसकेको छ। तर, बैंकले भने ‘नियुक्ति प्रक्रियामा छौँ’ भन्दै राष्ट्र बैंकलाई आलटाल गरिरहेको छ। राष्ट्र बैंकका एक अधिकारीका अनुसार, सुपरिवेक्षणका क्रममा यस्तो कैफियत देखिएपछि निश्चित समयसीमाभित्र सुधार गर्न निर्देशन दिइएको छ। ‘करारका कर्मचारीलाई सिस्टममा एक्सेस दिनु बैंकिङ जोखिम हो, यसलाई तत्काल एड्रेस गर्नुपर्छ,’ ती अधिकारीले भने। बैंकले यी दुई पदाधिकारीलाई पहुँच दिइरहेको विषयलाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागले मुख्य कैफियतको रूपमा औंल्याउँदै सचेत गराइसकेको छ। बैंकले भने उनीहरूलाई पुनः नियुक्तिको प्रक्रियामा रहेको भन्दै आलटाल गरिरहेको राष्ट्र बैंक स्रोतको दाबी छ।
‘हामीले बैंकलाई यो विषयमा स्पष्ट रूपमा सचेत सकेका छौं, अर्को पटकको फलोअप इन्स्पेक्सनमा जाँदासम्म २ जना डिसिइओहरुको पुनः नियुत्ती बिना सिबिएस एक्सेस दिएको रहेछ भने कारवाही हुन्छ।’ उनकाअनुसार बैंकले नियुक्ति प्रक्रियामा छौँ भन्दै जवाफ त दिएको छ, तर कार्यकाल सकिएको यति लामो समयसम्म अनधिकृत व्यक्तिलाई सिस्टममा पहुँच दिइराख्नु नियमसम्मत छैन।
‘यसअघि केही बैंकहरूमा पनि यस्तै समस्या देखिँदा राष्ट्र बैंकले एक्सन लिएको थियो। हिमालयन बैंकको हकमा पनि हामीले निरन्तर फलोअप गरिरहेका छौं, यो कुरा हामीले बैंक व्यवस्थापनलाई स्पष्ट पारिसकेका छौँ,’ उनले भने।
यसरी करार अवधि समाप्त भएका वा अवकास भएका कुनै व्यक्ति आइटी एक्सपर्ट वा बैंकलाई चाहिने मान्छे हुन सक्छ, तर त्यसका लागि उचित कानुनी प्रक्रिया पुर्याउनुपर्छ। तर, इन–प्रोसेस भन्दैमा नियम विपरीत सिस्टम एक्सेस दिइराख्न नहुने स्रोत बताउँछ।
किन दिइयो प्रणालीमा पहुँच?
यस विषयमा जिज्ञासा राख्दा हिमालयन बैंकका सीईओ अशोक शम्शेर राणाले बैंकमा अनुभवी जनशक्तिको अभाव र आइटी प्रणालीको जटिलताका कारण उनीहरूलाई निरन्तरता दिनुपरेको बताए। विशेष गरी बैंकको केही महिनाअघिमात्रै डिजिटल बैंकिङ र ‘टेमेनस’ सिस्टम माइग्रेसन हुँदा आएको समस्याबाट अझै बाहिर निश्किन सकेको छैन। उज्वलराज भन्डारी बैंकको बिजनेश डेभलपमेन्ट र सपोर्ट सिस्टम डिर्पामेन्ट हेड हुन्। उनी आइटी विज्ञ भएका कारणले पनि बैंकले कार्यअवधि समाप्त भएर पनि करार अवधि थप गर्दै राखेको बुझिएको छ।
अर्का डिसिइओ अनुप मास्के कर्पोरेट बिजनेस डिपार्टमेन्ट हेड हुन। सबैको अधिकांश ठुला कर्जा र निक्षेप मास्केको सम्बन्धका भरमा रहेको हुँदा उनलाई पनि बैंकले करारमा राखेको हो।
सिइओ राणा भन्छन्, ‘यो ठूलो इस्यु नै होइन’
उनीहरुलाई हटाउँदा बैंकको प्राविधिक र व्यवसायी सञ्चालनमा समस्या आउन सक्ने तर्क बैंकको छ। साथै, नियामकले तोकेको सेवा अवधिमा कारण बैंकबाट दक्ष र अनुभवि कर्मचारी बाहिर जाने जोखिमबारे तर्क राख्दै २ जनालाई विज्ञको रुपमा सोही पदमा नियुक्ती प्रकृया गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शम्सेर राणाले बताए।
‘हाम्रो ३० वर्षे सेवा अवधिको नियमका कारण अनुभवी मान्छेहरूले छोड्नुपर्ने अवस्था छ। यो बैंकिङ क्षेत्रका लागि ठूलो क्षति हो। उहाँहरु डिजिटल बैंकिङ र आइटीका ठूलो एक्सपर्ट हुनुहुन्छ,’ सिइओ राणाले क्यापिटल नेपालसँग भने, ‘अहिलेको सिस्टम माइग्रेसन र डिजिटल युगमा उहाँहरु जस्तो आवश्यक मान्छेलाई तत्काल पूर्ण रूपमा हटाउँदा सिस्टम नै लङ्गडो हुन सक्छ। अहिले धेरै कर्मचारीहरू विदामा भएकाले बोर्ड बैठक बस्न नसकेको हो। मान्छेहरू ट्राभलबाट फर्किएपछि हामी एक–दुई दिनमै यो प्रक्रिया सल्टाउँछौँ।’
सिइओ राणाले राष्ट्र बैंकले तोकेको सेवा अवधिकै कारणले अनुभवी कर्मचारीलाई करारमा राख्नुपर्ने बाध्यता रहेको भन्दै २/३ दिनमै २ जना डिसिइओहरुको पुनः नियुक्ती गरिने उनले बताए। सिइओ आफैं पनि करारमा हुने भएकाले दक्ष कर्मचारीलाई करारमा राखेर सिस्टममा एक्सेस दिनु ठूलो इस्यु नभएको उनले तर्क गरे।
‘बैंक कसरी चलाउने र कुन तहमा कसलाई राख्ने भन्ने निर्णय म्यानेजमेन्ट र बोर्डको हो। राष्ट्र बैंकले कसलाई कुन पदमा राख्ने भन्ने जस्ता साना कुरामा माइक्रो–म्यानेजमेन्ट गर्नु हुँदैन,’ उनले थपे, ‘यो कुनै ठूलो इस्यु होइन। अहिले फोर्स लिभमा धेरै कर्मचारीहरू विदामा भएकाले बोर्ड बैठक बस्न नसकेको हो। मान्छेहरू ट्राभलबाट फर्किएपछि हामी एक–दुई दिनमै यो प्रक्रिया सल्टाउँछौँ।’
सिइओ अशोक शम्सेर राणाको आफ्नै कार्यकाल पनि समाप्त हुने समय नजिकिँदै गर्दा, डीसीईओद्वय भण्डारी र मास्केकोे नयाँ सिइओ बन्ने आशामा अझै सक्रिय रहेको चर्चा बैंक वृत्तमा छ। यद्यपि, राणाको कार्यकाल समाप्त अझै करिब २ वर्ष बाँकी उनलाई सञ्चालक समितिले २०८० चैत २७ गते ४ वर्षको लागि पुनः सिइओमा नियुक्त गरेको हो। करारका कर्मचारीलाई संवेदनशील प्रणालीमा पहुँच दिँदा हुन सक्ने सुरक्षा जोखिमलाई लिएर राष्ट्र बैंकले कडाइ गरिरहे पनि हिमालयन बैंकले भने व्यावहारिक कठिनाइ देखाउँदै नियमको पालनामा ढिलाइ गरिरहेको छ।