काठमाडौं। एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरु गरेको छ। यसले देशभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ।
क्रिएट, कम्पिट, कन्कर भन्ने उत्साहजनक नारासहित सुरू भएको यस अभियानको प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरूलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्नेछ।
प्रतियोगितामार्फत सहभागीहरुले आफ्नो पहिचान बनाउने मौका पाउनेछन्। साथै, पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन्।
सहभागी प्रतियोगिहरुलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्वहरू र चर्चित क्रिएटर्सहरूले मार्गदर्शन गर्नेछन्।
“यो केवल प्रतियोगिता मात्र होइन, यो एक सिर्जनात्मक विकास यात्रा हो, जसमा मेन्टरशिप, कार्यशालाहरू, वास्तविक अनुभव लिदै सिक्ने मौका, चुनौतीपूर्ण चरणहरू र रोमाञ्चक पुरस्कारहरू रहेका छन्। यस अभियानमार्फत, हामी नयाँ पुस्ताका हाम्रा नेपाली डिजिटल सामग्री निर्माताहरूलाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौं । नेपालको डिजिटल इकोसिस्टमको हिस्सा भएका नाताले, हामी प्रतिभाको विकास र रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रतिबद्धता छौं,” एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन् ।
प्रतियोगिताका लागि शुक्रबार (जेठ १८, २०८२)बाट दर्ता खुला गरिएको छ। यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्छन्।
सहभागीहरूले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोष्ट गर्नुपर्ने बताइएकाे छ।