काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई उच्च प्राथमिकता दिँदै होण्डाका केही पुराना मोडेलका गाडीका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ अभियान सञ्चालन गरेको छ।
कम्पनीका अनुसार सन् २००१ देखि २०१४ सम्म निर्माण भएका होण्डाका सिटी, सिभिक, सीआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड मोडेलका गाडीहरू यस अभियानअन्तर्गत परेका छन्। ती गाडीमा जडान गरिएको एयरब्याग इन्फ्लेटरमा समयसँगै देखिन सक्ने सम्भावित प्राविधिक जोखिमलाई न्यूनीकरण गर्न रिकल अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
ग्राहकहरूले आफ्नो गाडी रिकल अभियानमा समावेश छ वा छैन भन्ने जानकारी होण्डाको आधिकारिक वेबसाइटमा गएर गाडीको विवरण (VIN/चेसिस नम्बर) प्रयोग गरी सहजै जाँच गर्न सक्नेछन्।
अभियानअन्तर्गत प्रभावित गाडीहरूको एयरब्यागको विस्तृत परीक्षण गरिनेछ। आवश्यक परे एयरब्याग इन्फ्लेटर परिवर्तन वा अन्य आवश्यक मर्मतसमेत पूर्ण रूपमा निःशुल्क गरिने कम्पनीले जनाएको छ। यसका लागि ग्राहकबाट कुनै पनि शुल्क नलिइने स्पष्ट पारिएको छ।
कम्पनीले सम्भावित जोखिमबाट जोगिन र सुरक्षित यात्रा सुनिश्चित गर्न सबै प्रभावित ग्राहकलाई आफ्नो नजिकको होण्डाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी समयमै एयरब्याग परीक्षण गराउन आग्रह गरेको छ।
स्याकार ट्रेडिङले यस्ता सेफ्टी रिकल अभियानहरू विश्वव्यापी होण्डा सुरक्षा मापदण्डअनुसार सञ्चालन गरिने र ग्राहकको सुरक्षा तथा सन्तुष्टिलाई सधैं पहिलो प्राथमिकतामा राखिने जनाएको छ।