काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले ३ करोडमाथिका आयोजना मात्रै संघीय बजेटमा समावेश भएको दाबी गरिरहेका बेला आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा १ लाखका आयोजना पनि समावेश गरेको भेटिएको छ। सहकारी विकास मन्त्रालयका २५ आयोजना मात्रै १ लाख रुपैयाँका रहेका हुन्।
अर्थमन्त्रीले यस्ता आयोजनालाई कार्यक्रम र बजेट शीर्षक/उपशीर्षकअन्तर्गत एउटै शीर्षकमा जोडेर बजेट विनियोजन गरेका छन्। राष्ट्रिय योजना आयोगले ३ करोडभन्दा कम लागतका आयोजना आयोजना बैंकमा प्रविष्ट हुन नदिएको र प्रविष्ट भएकामध्ये १३ सय २७ आयोजना मात्र छनोट गरिएको दाबी अर्थमन्त्रीको थियो।
सहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयबाट अघि बढाइएका थुप्रै आयोयोजना २५ देखि १ लाख रुपैयाँसम्म लागतसम्मका छन्।
अर्थमन्त्रीले साना खेल मैदान, विद्यालय भवन निर्माण, नदी सफाइ, क्रिकेट मैदानमा लाइट जडान, स्थानीय सडक निर्माण तथा मर्मतलगायतमा १ लाख रुपैयाँसम्मको बजेट विनियोजन गरेका छन्। जबकि यी सबै स्थानीय सरकारले गर्ने काम हुन्।
अर्थमन्त्री पौडेलले काभ्रे भ्यालीमा प्रणाली निर्माण, सुधार र विस्तार कार्यका लागि १ लाख रुपैयाँ छुट्याएका छन्।
यस्तै, बागमती नदी जलाधार क्षेत्र बागमती सुधार आयोजनामा १ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नदी जलाधार क्षेत्रमा सीमसार निर्माणका लागि १ लाख, बागमती आयोजनाअन्तर्गत पानी पुनर्भरण पोखरीहरु निर्माण गर्न १ लाख रुपैयाँ विनियोजन गरिएको छ।
आगामी आवको बजेटमा बागमती आयोजनाअन्तर्गतकै नदी पुर्नजीवन कार्यका लागि १ लाख रुपैयाँ छुट्याइएको छ भने अव्यवस्थित बस्ती विस्तारका लागि १ लाख विनियोजन गरिएको छ।
यस्तै, अर्थमन्त्रीले फोहोर पानी प्रशोधन केन्द्र निर्माणका लागि १ लाख रुपैयाँ विनियोजन गरेका छन् भने उपराष्ट्रपति कार्यालय भवन निर्माणका लागि १ लाख रुपैयाँ छुट्याएका छन्।
सहकारी विकास मन्त्रालयका अनुसार चारखाल भवन परिसरभित्र एकीकृत सरकारी कार्यालय भवन निर्माण कार्यका लागि १ लाख रुपैयाँ विनियोजन गरिएको छ।
राष्ट्रपति निवास कार्यालय, शीतलनिवास परिसरमा गुरुयोजनाबमोजिम पहिलो चरणको निर्माण कार्यका लागिग १ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्रिभुवन विश्वविद्यालयका लागि स्पोटर्स एकेडेमी निर्माण गर्न १ लाख छुट्याइएको छ।
अर्थमन्त्री पौडेलले सिंहदरबार परिसरभित्र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच जल र हरियालीसमेतको बफर जोन निर्माण गर्ने कार्यका लागि १ लाख रुपैयाँ, बाडेगाउँमा रहेको कृष्णप्रसाद आश्रम नजिकको पोखरी संरक्षण गर्ने कार्यका लागि १ लाख छुट्याइएको छ।
कीर्तिपुर क्रिकेट मैदान, कीर्तिपुर स्टेडियममा ल्यान्डस्केप गर्ने कार्यका लागि १ लाख र कीर्तिपुर क्रिकेट स्टेडियम इन्टेरियर डिजाइनका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
सहरी विकास मन्त्रालयका अनुसार कीर्तिपुरमा क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियम निर्माणका लागि १ लाख, कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्याराफिट निर्माण गर्न १ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
कीर्तिपुर क्रिकेट मैदानमै फ्लडलाइटको अपरेसन एन्ड मेन्टिनेन्सका लागि १ लाख, कीर्तिपुर क्रिकेट मैदानमै स्टेडियम निर्माण गर्न इआईएबमोजिम मिटिगेसन गर्ने कार्यका लागि १ लाख रुपैयाँ बजेट अर्थमन्त्रीले छुट्याएका छन्।
यस्तै, सिंहदरबार परिसरभित्र विद्युत्, टेलिफोन, अप्टिकल फाइबरलगायतका संरचना प्रविष्ट गर्न करिडोर निर्माणका लागि १ लाख, सिंहदरबार परिसरको स्वीकृत गुरुयोजना कार्यान्वयनअन्तर्गत बहुतले पार्किङ निर्माण गर्ने पहिलो चरणका लागि १ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
ललितपुरको शंखमूलमा पूर्वकर्मचारी सेवा परिषद् नेपालको भवन मर्मत कार्यका लागि १ लाख रुपैयाँ अर्थमन्त्रीले बजेटमा छुट्याएका छन्।
अर्थमन्त्री पौडेलले सघन सहकारी विकास आयोजनाअन्तर्गतकै सेवार खोला बसपार्कमा पूर्वाधार निर्माण गर्न घोराही दाङको दोस्रो चरणको दायित्व भुक्तानी भन्दै १ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्।
ठूला सहरी करिडोरको पूर्वाधार विकास गर्न (लमही–घोराही–तुलसीपुर–इमलिया) टरिगाउँ खण्ड दायित्व भुक्तानीका लागि १ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, अछामको निमायलमा सामुदायिक भवन निर्माण (अन्तिम चरण)का साथै उक्त क्षेत्रमा सहरी पूर्वाधार निर्माण कार्यका लागि १ लाख रुपैयाँ बजेट छुट्याइएको छ।