काठमाडौं। काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच ‘सिप मेला २०८२’ को लागि साझेदारी भएकाे छ। जेठ २१ गते टुंडिखेलमा सम्झौता पत्र हस्ताक्षर कार्यक्रममाझ महानगर र एनसेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएकाे हाे।
सिप विकासअन्तर्गत महानगरले आयोजना गरेको यो सबैभन्दा ठूलो सिप विकास कार्यक्रम हो। यस कार्यक्रम अन्तर्गत, व्यवहारीक र रोजगारीमुखी सीपमा तालिम दिइने लक्ष्य लिइएको छ, जसले सहभागिहरुको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुऱ्याउने छ।
महानगरतर्फबाट सिप मेला २०८२ कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशिल अभियान नेपालकातर्फबाट अध्यक्ष रामजी प्रसाद पौडेल तथा एनसेलकोतर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर, विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाईरेक्टर डिल्लीराम श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।
“एनसेल फाउन्डेसनमा हामी सिप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्ने विश्वास गर्छौं। सिप मेलामा काठमाडौं महानगरपालिकासँगको सहकार्यबाट युवाहरुलाई व्यवहारीक सिपहरू प्रदान गरी आजको परिवर्तनशील रोजगारी बजारमा सफल हुन सघाउने विश्वास लिएका छौं,” एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर, विशाखा लक्ष्मी खड्काले भनिन्।
जेठ ७ गतेदेखि सुरु भएको सिप मेलामा हाल १० क्षेत्रमा आधारित ३७ पेसामा २४ सय २४ जनालाई सीप तालिम प्रदान गरिएकाे छ। यसमा आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, कृतिम बौद्धिकता (एआइ) र यसको प्रयोग (एआइ एन्ड इट्स एप्लिकेसन) गरी १२ पेशा छन्।
ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृतिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर) पेशा छन्।