काठमाडौं। नेपाल बिमा प्राधिकरणको आयोजनामा निर्जीवन बिमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यबीच बिमासम्बन्धी समसामयिक विषयमा छलफल एवं अन्तक्रिया सम्पन्न भएको छ।
बिमा उद्योगको विद्यमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटलाइजेशन, संस्थागत सुशासन, वित्तीय विवरण, बिमा शिक्षा र सेवा प्रवाहलगायतका विषयमा बिमकका संचालक समितिका अध्यक्ष तथा सदस्यसँग छलफल गरी राय सुभाव प्राप्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा कम्पनीलाई वित्तीय रूपमा सबल बनाउन, मुनाफा सुनिश्चित गर्न र बिमितको हित रक्षा गर्नका लागि जिम्मेवारीपूर्वक सशक्त भूमिका निर्वाह गर्न निर्जीवन बिमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यलाई निर्देशन दिए।
उनले भने, ‘बिमा कम्पनी सबल हुनका लागि बाध्यकारी बिमाको दायराबाट बाहिर निस्कनुपर्छ, बिमा ऐन नियम जिम्मेवारीपूर्वक पालना गर्नुपर्छ, कम्पनीको नीतिगत र दीर्घकालीन विषयमा संचालक समिति जानकार रहनुपर्छ, प्राधिकरण शूक्ष्म व्यवस्थापन गर्न चाहँदैन, शूक्ष्म व्यवस्थापनको अवस्था आउन नदिन व्यवस्थापनलाई संचालक समितिले जिम्मेवार बनाउनुपर्छ, नियन्त्रण गर्नुपर्छ।’
बिमा कम्पनीका प्रदेश कार्यालयलाई दाबी फछ्र्यौटको अधिकारसहित सशक्त बनाउन निर्देशन दिँदै अध्यक्ष ओझाले प्राधिकरणका प्रदेश कार्यालयमा समेत दाबी भुक्तानीका उजूरी बढिरहेकाले समयमा दाबी भुक्तानी दिएर बिमाप्रतिको विश्वास बढाउनु आवश्यक रहेको बताए।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमा उद्योगलाई व्यवस्थित रूपमा अगाडि बढाउन, बिमितको हित रक्षा गर्न र बिमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि प्राधिकरणले नियमकीय भूमिकासँगै सहयोगीको भूमिका निर्वाह गर्दै आएको बताए।
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका उपनिर्देशक हृदयश्वर पण्डितले बिमकमा संस्थागत सुशासन कायम गर्न संचालक समितिको भूमिका र उपनिर्देशक विरोध वाग्लेले बिमकको लेखापरीक्षण तथा वित्तीय विवरण सम्बन्धमा संचालक समितिको भूमिकासम्बन्धी छुट्टा-छट्टै प्रस्तुति गरेका थिए।
कार्यक्रममा निर्जीवन बीमा कम्पनी, निर्जीवन लघुबिमा कम्पनी र पुनर्बिमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यको सहभागिता थियो।