काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति पूर्वमन्त्री धनराज गुरुङले सरकारले शिक्षकसँग गरेको सम्झौता पुरा गर्नुपर्ने बताएका छन्। नेपाल शिक्षक संघले बिहीवार काठमाडाैंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले शिक्षकसंग गरेका बाचा पुरा गर्नुपर्ने बताएका हुन्।
उनले भने," पुरा गर्न नसक्ने सम्झौता गर्नु हुँदैन,त्यसैले सरकारले शिक्षकसंग गरेको बाचा पुरा गर्नुपर्छ।" त्यहीँ सम्झौताअनुसार असार १५ भित्रै शिक्षा विधेयक आउने गरि काम भैइरहेको भन्दै शिक्षकहरुलाइ ढुक्क हुन आग्रह गरे।
आर्थिक अवस्थाका कारण शिक्षकहरुका माग पुरा गर्न गाह्रो हुन्छ भन्ने बेलाबेलामा अनौपचारिक सुन्ने गरेको प्रसङ्ग जोड्दै सरकार सम्झौताबाट पछि हट्न नहुने बताए।
उनले भने, "शिक्षकहरुका माग पुरा गर्न देशको अर्थतन्त्रले भ्याउदैन भन्ने पनि बेला बेलामा सुन्ने गरेको छु। अर्थ छैन भनेर सरकार खुम्चिएर बस्ने होईन,अर्थ बनाउन लाग्नुपर्छ।"
अर्थतन्त्र उकास्न आफूले आफ्नो मन्त्री परिषद्को पालामा गरेको काम र संसदमा पटकपटक उठाउने गरेको कुराको स्मरण गराउदै करको दायरामा नआएको घरेलु मदिरालाई करकाे दायरामा ल्याएर शिक्षा क्षेत्रमा खर्च गर्न सकिने बताए।
उनले भने,"घरेलु मदिरा अहिले पनि प्रयोग भैइरहेको छ,त्यहीँ मदिरालाई करको दायरामा ल्याउ र त्यसबाट उठ्ने राजस्व शिक्षा क्षेत्रमा खर्च गरौं। यत्ति गर्न सके घरेलु मदिरा पनि व्यवस्थित हुने र शिक्षा क्षेत्रमा खर्च गर्ने पैसा छैन भन्न पनि नपर्ने।"