काठमाडौं। निजी क्षेत्रका व्यवासायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल सुरु भएको छ। महासंघको ६०औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा सुरु हुन लागेको हो।
महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारणसभासँगै नयाँ कार्यसमिति चयन हुनेछ। नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वत अध्यक्ष हुनेछन् भने अन्य पदमा चुनावी प्रतिस्पर्धा हुनेछ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको लागि हेमराज ढकाल प्यानलले सोमबार उम्मेदवारी घोषणा गर्दै छ। हाल उपाध्यक्ष रहेका ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्न याक एन्ड यती होटलमा बेलुकी पत्रकार सम्मेलनको निम्तो बाँडेका छन्।
ढकालको प्यानलबाट एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे तथा वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ उम्मेदवार बनेका हुन्। कमला श्रेष्ठलाई महिला उपाध्यक्षको उम्मेदवारको रुपमा अघि सारिएको छ।
ज्योत्सना श्रेष्ठ हाल पनि एसोसिएट उपाध्यक्ष छन्। उमेश डालमिया हाल व्यापार मेला कमिटिका संयोजक हुन् भने कल्पना गैरे कार्यसमिति सदस्य हुन्। नरेशलाल श्रेष्ठ हाल निर्यात प्रबर्दन कमिटिका संयोजक हुन् हुने कमला महिला उद्यमी विकास कमिटी संयोजक हुन्।
महासंघमा यसपटकदेखि दुई जना जिल्ला नगर उपाध्यक्षको निर्वाचन हुनेछ।
उनीहरुले आज दिउसो ४ बजे होटल याक एन्ड यतीमा विशेष कार्यक्रमसहित उम्मेदवारी घोषणा गर्नेछन्। महासंघको साधारणसभा नजिकिएसँगै चुनावी अभियानमा आकांक्षी सक्रिय बनेका छन्।