काठमाडौं। नेपाल बिमा प्राधिकरणको पछिल्लो विवरणअनुसार चालू वर्षको माघसम्म जीवन बिमा कम्पनीले ८५ अर्ब ९४ करोड १० लाख रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेको देखिएको छ।
प्राधिकरणका १४ जीवन बिमा कम्पनीले सात महिने अवधिमा उक्त रकम बराबरको नवीकरण बिमाशुल्क आर्जन गरेका हुन्।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बिमा कम्पनीको नवीकरण बिमाशुल्क आर्जन १४.२० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा जीवन बिमा कम्पनीले ७५ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको नविकरण बिमाशुल्क आर्जन गरेका थिए।
समीक्षा अवधिमा सबैभन्दा बढी नवीकरण बिमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स र एलाईसी नेपाल रहेका छन्। नेपाल लाइफले २२ अर्ब ८३ करोड ९३ लाख नवीकरण बिमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष माघसम्म कम्पनीले २१ अर्ब २१ करोड ७४ लाख संकलन गरेको थियो।
दोस्रोमा बिमाशुल्क संकलन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले १० अर्ब १० करोड २ लाख रुपैयाँ नवीकरण बिमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९ अर्ब ६२ करोड ५५ लाख रुपैयाँमात्रै नवीकरण बिमाशुल्क संकलन गरेको थियो।
यस्तै, नेसनल लाइफले ८ अर्ब ३६ करोड ७९ लाख, हिमालयन लाइफले ९ अर्ब ४ करोड ९३ लाख, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बिमा कम्पनीले ६ अर्ब ८३ करोड ४६ लाख, सूर्यज्योति लाइफले ४ अर्ब ९६ करोड ३२ लाख, एसियन लाइफले ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ, सिटिजन्स लाइफले ३ अर्ब २१ करोड ९९ लाख र सानिमा रिलायन्स लाइफले ३ अर्ब १२ करोड ८० लाख रुपैयाँ संकलन गरेका छन्।
समीक्षा अवधिमा मेटलाइफले २ अर्ब ८२ करोड ९९ लाख, आइएमई लाइफले २ अर्ब ५० करोड ८५ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ३४ करोड ६१ लाख, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ३३ करोड ६३ लाख र सन नेपाल लाइफले १ अर्ब ८५ करोड ६४ लाख नवीकरण बिमाशुल्क आर्जन गरेको प्राधिकरणको विवरणमा उल्लेख छ।