काभ्रे। काठमाडौं विश्वविद्यालय (केयु)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा आज विभिन्न तह एवं विधामा ११२९ विद्यार्थी दीक्षित भएका छन्।
दीक्षान्त समारोह प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षमा सम्पन्न भएको समारोहमा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत बेरन्डन जी कारको प्रमुख आतिथ्य तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तको उपस्थिति रहेको थियो।
समारोहमा स्कुल अफ आर्टसका १६३, स्कुल अफ एजुकेसनका १०२, स्कुल अफ इञ्जिनियरिङका ६८, स्कुल अफ मेनेजमेन्टका ११०, स्कुल अफ मेडिकल साइन्सेजका ६६१ र स्कुल अफ साइन्सका २५ जना विद्यार्थी दीक्षित भएका हुन्।
यस्तै, समारोहमा विश्वविद्यालयका आर्टस्, एजुकेसन, इञ्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेन्स र साइन्स सङ्कायका पिएचडी तहका १४, डिएम तहका आठ, एमसीएच तहका १०, एमफिल तहका ६९, स्नातकोत्तर तहका ५१३, पिजीडी तहका चार र स्नातक तहका ५१९ जना दीक्षित हुनेछन्।
दीक्षित हुनेमध्ये ५० दशमलव ९३ प्रतिशत छात्र र ४९ दशमलव ०७ प्रतिशत छात्रा छन्। दीक्षित हुने विदेशी विद्यार्थी भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशका ११८ जना अर्थात् १० दशमलव ४५ प्रतिशत रहेको केयुले जनाएको छ। समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रधानमन्त्री ओली र कारले संयुक्त रुपमा स्वर्णपदक प्रदान गरेका थिए।