काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आइएमई समूहलाई लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीको सृजनामा अघि बढ्न आग्रह गरेका छन्।
शुक्रबार ललितपुरमा आयोजित आइएमईको २५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताए।
द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको बेला जोखिम मोलेर आइएमई स्थापना भएको स्मरण गर्दै गभर्नर पौडेलले देशलाई अहिले पनि जोखिम लिन सक्ने धेरै उद्यमीको खाँचो रहेको बताएका थिए।
यस अवसरमा आइएमईका संस्थापक अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई ग्रुपको सफलतामा तीन वटा आधार रहेको प्रष्ट पारे। उनले आइएमई ग्रुपका कम्पनीले नाफा मात्रै कमाउने कुरामा ध्यान नदिएर आम मानिसले खोजेको सेवा, सरकारले राखेको प्राथमिकता र व्यवसायको रूपमा अघि बढाउन सकिने मूल सिद्धान्तमा केन्द्रित बनेर सफलता हासिल गर्न सम्भव भएको बताए।
यी मुख्य व्यावसायिक सिद्धान्तमा टेकेर आइएमई ग्रुपले रेमिट्यान्सबाट बैंकिङ, बिमा, पर्यटन, सूचना प्रविधि, जलविद्युत् जस्ता क्षेत्रमा लगानी विस्तारमार्फत हजारौँ गुणस्तरीय रोजगारी सृजना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको पनि संस्थापक अध्यक्ष ढकालको भनाइ थियो।
आइएमईका सहसंस्थापक तथा अध्यक्ष हेम राज ढकालले उत्कृष्ट र विस्तारित सेवाको माध्यमबाट आइएमईले आफ्ना ग्राहकको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।
उनले युवाहरू सूचना प्रविधि क्षेत्रमा नेपालमै बसेर विदेशमा सेवा निर्यातबाट कमाएको रकम सहजै भित्र्याउन डिजिटल रेमिटेन्स पूर्वाधार विस्तारमा प्रोत्साहन गर्न राष्ट्र बैंकको सहयोगको अपेक्षा गरेको पनि बताएका थिए। यसैगरी विदेशमा काम गर्न जाने क्रममा युवाहरूले महँगो ब्याज तिरेर ऋण लिन बाध्य हुनु परिरहेको अवस्थाको अन्त्य गर्न आइएमईमार्फत सानो कर्जा दिन सकिने व्यवस्था मिलाउन पनि अध्यक्ष ढकालले आग्रह गरेका थिए।
साथै, अध्यक्ष ढकालले २५ वर्षको यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राही, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकायहरू, व्यावसायिक साझेदार, कर्मचारीलगायत सम्पूर्ण शुभचिन्तकमा आभार व्यक्त गरे।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए।