काठमाडाैं। पैदल यात्रुले सडक पार गर्न कि आकाशे पुलको व्यवस्था गरिएको हुन्छ कि त सडकमै सेतो लामो धर्काहरु बनाएर चिनो लगाइएको हुन्छ, जसलाई जेब्रा क्रसिङ भनिन्छ। जेब्रा क्रसिङ यात्रुलाई बाटो काट्नका लागि बनाइएको हो।
-1750049094.jpg)
ट्राफिक नियमअनुसार जुनसुकै सवारीसाधनले जेब्रा क्रसिङबाट बाटो काट्नका लागि यात्रुलाई प्राथमिकता दिनुपर्छ। जेब्रा क्रसिङको लाइन सुरु हुनुअघि नै सवारीसाधन रोक्नुपर्छ। ट्राफिक नियमको उल्लंघन गरेमा जरिवाना लाग्ने सूचनाहरु पनि ठाउँठाउँमा टाँगिएका हुन्छन्। त्यसमाथि नियम पालना गराउन ट्राफिक प्रहरीसमेत सडकमा खटिएकै हुन्छन्।
जेब्रा क्रसिङ पैदल यात्रुका लागि हो तर सवारी चालकले यो कुरा बुझेर पनि अटेर गरिरहेको देखिन्छ। जेब्रा क्रसिङमै गाडी, मोटरसाइकल रोकेको देखेर पनि ट्राफिक प्रहरी टुलुटुलु हेरिरहेका देखिन्छन्। अझ कुनै-कुनै सार्वजनिक गाडीका चालकले त जेब्रा क्रसमै घ्याच्च बस रोकेर यात्रु चढाएको समेत देखिन्छ।
-1750049092.jpg)
जेब्रा क्रसिङबाट बाटो काट्न समेत डराउनुपर्ने अवस्था आएको यात्रुहरु अनुभव सुनाउँछन्। 'जेब्रा क्रसिङमा त पैदल यात्रुले ढुक्क भएर बाटो काट्न पाउनुपर्ने हो नि तर हात दिँदा पनि रोक्दैनन्। सवारी चालक त गैरजिम्मेवार भए नै, ट्राफिक समेत टुलुटुलु हेरेर बस्छन्,' माइतीघरको जेब्रा क्रसिङबाट बाटो काट्न लागेका एक पैदल यात्रुले भने। जेब्रा क्रसिङको मतलब नगर्नेमा मोटरसाइकल र सार्वजनिक सवारीसाधन अगाडि रहेको उनको अनुभव छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (संशोधन २०७५) को दफा १३२ मा सवारीसाधन कहाँ र कसरी रोक्ने भन्ने उल्लेख छ। यो दफाले भन्छ- जेब्रा क्रसिङमा मानिस ओहोरदोहोर गरेको अवस्थामा वा दोबाटो वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने संकेत गरेकोमा गाडी रोक्नुपर्छ। तर सडकमा हेर्यो भने जेब्रा क्रसिङ कहिल्यै खाली हुँदैनन्। गाडी रोकेर बटुवालाई सडक वारपार गर्न दिएको विरलै भेटिन्छ।
-1750049088.jpg)
-1750049084.jpg)
-(1)-1750049088.jpg)
-1750049084.jpg)
-1750049081.jpg)
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी