काठमाडौं। चार्टरमार्फत भारतका विभिन्न स्थानमा उडान गर्दै आएको श्री एयरलाइन्सले अब नियमित उडान सञ्चालन गर्ने भएको छ। मंगलबार श्रीले कोलकातामा परीक्षण उडान सम्पन्न गरेसँगै अब नियमित उडानको बाटो खुलेको हो। यद्यपि, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सफल भएको आधिकारिक पत्र भने आउन बाँकी नै छ।
श्री एयरलाइन्सका बजार प्रमुख अनिल मानन्धरले नियमित उडानका लागि पूरा गर्नुपर्ने चरणहरू पूरा भएसँगै भारतमा नियमित उडानका लागि बाटो खुलेको जानकारी दिए। मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूलाई लिएर कोलकाताको विमानस्थलमा यात्रुहरू जसरी नै प्रवेश गरेर गरिएको डेमो उडान सफल भएको बताउँदै अब प्राधिकरणले नियमित उडानका लागि अनुमति दिएसँगै आवश्यक प्रक्रिया पूरा हुने उनले बताए।
नागरिक उड्डयन प्राधिकरणले नियमित उडानका लागि अनुमति (एओसी) दिएपछि भारतका नयाँ दिल्ली र कोलकातामा आवेदन पेश गरिने उनको भनाइ छ। प्राधिकरणबाट पत्र प्राप्त भएपछि भारतका सम्बन्धित निकायमा पठाइने र त्यहाँबाट अनुमति प्राप्त भएलगत्तै उडान सञ्चालन गर्ने तयारी श्रीको छ।
श्रीले नियमित उडानका लागि अनुमति मागेपछि अडिटका लागि भारतबाट केही अधिकारीहरू नेपाल आउन सक्ने जनाएको छ। ती अधिकारीहरूले श्री एयरलाइन्सको अडिट गरेपछि नियमित उडानका लागि अनुमति प्रदान हुन सक्ने बताइएको छ।
हाल भारतसहित बंगलादेशमा चार्टर उडान गरिरहेको कारणले नियमित उडानका लागि अनुमति सहजै प्राप्त हुने विश्वास श्रीले लिएको छ। भारतबाट अनुमति प्राप्त भएको तीन महिनाभित्र नियमित उडान सुरु गर्ने बजार व्यवस्थापक मानन्धरको भनाइ छ।
“हाम्रो जोड नयाँ दिल्लीमै हुनेछ,” बजार व्यवस्थापक मानन्धरले भने, “अनुमति पाएपछि दैनिक वा सातामा कति दिन उडान गर्ने भन्ने टुंगो लाग्छ।”
नयाँ दिल्लीका लागि अनुमति पाएमा दैनिक उडान गर्ने तयारी श्रीको छ। श्रीले ८० सिट क्षमताको बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाजमार्फत उडान गर्ने तयारी गरेको छ। यदि दिल्लीका लागि उडान अनुमति प्राप्त भएमा बजेट एयरलाइन्सको रूपमा दैनिक उडान सञ्चालन गर्ने योजना रहेको छ।