काठमाडौं। बैंकहरूले निर्देशित क्षेत्रमा कर्जा प्रवाह गर्नै नसक्ने जनाएका छन्। नेपाल राष्ट्र बैंकले बैंकर्सहरूसँग राखेको अन्तरक्रिया कार्यक्रममा बैंकरहरूले नियामकले हजर्ना लगाए पनि तोकिएको प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह समय सीमा गर्न सम्भव नहेको बताएका हुन्।
मंगलबार दिउँसो राष्ट्र बैंकले होटल याक एण्ड यतिमा ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको थियो। जसमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको प्रमुख कार्यकारीहरूको उपस्थिति रहेको थियो।
गभर्नर डा. विश्व पौडेल राष्ट्र बैंकको जिम्मेवारीमा आएपछि पहिलो पटक सिइओहरूसँग अन्तरक्रिया गरेका हुन्। उक्त कार्यक्रममा बैंकर्स संघको तर्फबाट अध्यक्ष सन्तोष कोइराला र उपाध्यक्ष सुरेन्द्र राज रेग्मीले वाणिज्य बैंकहरूको सुझाव आगामी मौद्रिक नीतिमा राखेका थिए।
‘निर्देशित क्षेत्रमा तोकिएको समय र सीमामा हामी कर्जा पुर्याउन सक्दैनौँ, यसमा हजर्ना तिराउनु भएन, अहिलेको अवस्थामा अब बैंकहरूले तोकिएको प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा सिमामा प्रवाह गर्न सक्दैनन्, यसलाई डिफर (स्थगित) गरिदिनु पर्यो, कर्जा नोक्सानीको व्यवस्था (प्रोभिजन)लाई पनि रिकन्सिडर गरिदिनु पर्यो,’ संघका अध्यक्ष कोइरालाले भने।
अन्तरक्रिया कार्यक्रममा बैंकरहरूले आगामी मौद्रिक नीतिले बैंकिङका लागि ल्याउनुपर्ने नयाँ नीति र पुराना नीति संशोधनबारे सुझाव दिएको उनले जानकारी दिए।
भारत, बंगलादेशलगायत सार्क राष्ट्रको असल अभ्यासअनुसार नेपालको पनि कर्जाको प्रोभिजन नीति संशोधन गरिनुपर्ने बैंकरहरूको सुझाव थियो।
यस्तै, कर्जाको आधार दर र स्प्रेडरेट गणना विधिमा समेत पुनरविचार गरी संशोधन गर्नुपर्ने माग बैंकरहरूले गरेका थिए। कर्जाको प्रिमियम एक पटकमात्रै निर्धारण गर्न पाउने नीति संशोधन हुनुपर्ने, घर कर्जा, सवारी कर्जाको लोन टु भ्यालु रेसियोमा संशोधन गरिनुपर्ने, एएिमई कर्जाको लिमिटलाई साढे दुई करोड रुपैयाँबाट बढाउनुपर्ने सुझाव बैंकरहरूले राखेका थिए।
विकास बैंकहरू र वित्त कम्पनीहरूको बैंकर्स संघका तर्फबाट अध्यक्षहरूले आफ्नो सुझाव राखेका थिए।
बैंकरहरूको सुझाव सुनेर गभर्नर डा. पौडेलले अर्थतन्त्र समस्यामा छ। अहिले सबैलाई समस्या छ। तर, समस्या समाधान गर्न नसकिने विकराल भने छैन, सबै स्टेक होल्डर मिलेर विस्तारै समाधान गर्दै जानुपर्ने बताएका थिए।
नियमन विभागका प्रमुख तथा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अर्थतन्त्रको माइक्रो र म्याक्रो अवस्था, बैंकिङ क्षेत्रको वर्तमान अवस्था र अर्थतन्त्रमा बैंकिङ क्षेत्रले निभाउनुपर्ने भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।