काठमाडाैं। नेपाल निर्जीवन बिमा व्यवसायी संघले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजीनामा पछि पनि १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकायमा पुनः ध्यानाकर्षण गराएको छ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको भन्दै संघले धितोपत्र बोर्ड, बिमा प्राधिकरणलगायतलाई ध्यानाकर्षण गराएको हो।
निर्जीवन बिमा व्यवसायीसंघद्धरा जारी विज्ञप्तिमा भनिएको छ,‘सेयर विक्रीसम्बन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौं। कम्पनीमा कायम रहेका सवै सेयरधनी जस्तै सञ्चालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा सेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौ।’
नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका संघका अध्यक्ष राजेन्द्र मल्लले ‘सञ्चालकहरुको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’ भएकाले सो प्रावधान सच्याउनका लागि आग्रह गरिएको बताए।
लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरुको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताए।
सञ्चालकहरुले अन्य सेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट संचालकहरुलाई बञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ।
कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधीकरणलगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए।