काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच एनपीएस–एनसीएस, डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपालपे क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी सेवा सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।
साे सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा.इन्द्रकुमार कट्टेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालकै स्वदेशी कार्ड स्किम ‘नेपालपे कार्ड’ को इस्युइङ र अक्वायरिङका लागि स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो। त्यसपछि बैंक तथा वित्तीय संस्थाहरू एनपीएस–एनसीएस र नेपालपे कार्डमा आवद्ध भइरहेकाे बैंकले बताएकाे छ।
नपीएस–एनसीएस एक केन्द्रिय कार्ड स्विचको रूपमा कार्य गर्दै विभिन्न कार्ड स्विचहरूबीच आबद्धता रहने बैंकले जनाएको छ। यस प्रणालीले डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्ट सहज बनाउने, कारोबार लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीन प्रविधिको प्रर्वद्धन गर्ने अपेक्षा गरिएको छ। सम्झौता अनुसार नेपालपे क्यूआर तथा यसको इन्टरओपरेबल क्यूआरमार्फत अब अलिपे प्लस नेटवर्क प्रयोग गरेर अन्तरदेशीय भुक्तानी गर्न सकिनेछ।
यसका माध्यमबाट चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन, इटली, अष्ट्रिया, जर्मनीलगायतका देशबाट नेपाल आएका पर्यटकहरूले सजिलै भुक्तानी गर्न सकिने बैंकले बताएकाे छ।